त्रिकोणात्मक शृङखलामा नेपालले मलेसियालाई ६९ रनले हरायो

बैशाख ०९,२०७८

-आस्था न्यूज

वैशाख ९,२०७८ काठमाडौं ।
नेपालले ट्वान्टी २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृङखलामा मलेसियालाई राउन्ड रोबिनको अन्तिम खेलमा ६९ रनले पराजित गरेको । मलेसियाले टस जितेपछि ब्याटिङमा नेपालले त्रिवि क्रिकेट मैदानमा ७ विकेट गुमाई २ सय १७ रन बनाएको थियो ।
 
जवाफमा आएको मलेसिया १९.१ ओभरमा १ सय ४८ रनमा अलआउट भयो । यसअघि नै फाइनलमा स्थान सुरक्षित गरेको नेपालले राउन्ड रोबिनको चार मध्येको तीन खेल जित्यो । मलेसिया ४ मध्येको तीन खेलमा पराजित रह्यो । २ जित र एक बराबरीका साथ यसअघि नै फाइनल पुगेको नेदरल्यान्ड्ससँग नेपालले शनिबार उपाधि भिडन्तमा प्रतिस्पर्धा गर्नेछ ।
 
नेपालबाट सन्दीप लामिछाने, सोमपाल कामी र कमलसिंह ऐरीले ३/३ विकेट लिए । सन्दीपले ४ ओभरमा ४२ रन खर्चन पुगे । सोमपालले ४ ओभरमा १ मेडन राख्दै २० रन खर्चे ।
 
ट्वान्टी २० अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका कमलले ३.१ ओभरमा १६ रन खर्चे । प्रतियोगितामा पहिलोपटक अवसर पाएका सुशन भारीले १ विकेट लिए । उनले ३ ओभरमा ३५ रन खर्चे ।
 
मलेसियाबाट अमिनुद्धिन राम्लीले ४१ रन बनाए । उनले १८ बल खेली १ चौका ५ छक्का प्रहार गरे । कप्तान अहमाद फेज २१ बलमा ४ चौका र १ छक्का प्रहार गरी ३१, फिती शाम १४ र वीरनद्विप सिंह १३ रनमा आउट भए ।
 
यसअघि नेपालबाट करण केसीले १३ बलमा ७ छक्का प्रहार गरी ४५ रन बनाएका थिए । आफ्नो डेब्युका ३ खेलमा लगातार अर्धशतक बनाएका कुशल भुर्तेल १६ रनमा आउट भए पनि नेपाल लगातार दोस्रो खेलमा २ सय माथि रन बनाउन सफल भएको हो ।