नेप्सेमा दोहोरो अंकको गिरावट

बैशाख १५,२०७८

-आस्था न्यूज

वैशाख १५,२०७८ काठमाडौं ।
बुधबार सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । कोभिड-१९ को दोस्रो लहर कोरोना भाइरसको तीब्र संक्रमणका बीच सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञाको घोषणा गरिरहँदा यता निषेधाज्ञाको अघिल्लो दिन नेप्से परिसूचक १३ दशमलव ७९ अंकले घट्न पुगेको हो । 
 
बुधबार नेप्से १३.७९ अंकले घटेर २ हजार ५ सय ८५ अंकमा झरेको छ ।  यस दिन प्रमुख कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत २ दशमलव १६ अंकले घटेर ४ सय ६५ दशमलव १२ अंकमा कायम भएको छ । 
 
बुधबार नेप्से परिसूचक घटेसँगै कारोबार रकममा समेत गिरावट आएको छ । गत आइतबारदेखि लगातार घट्दो क्रममा रहेको नेप्से कारोबार बुधबार ३ अर्ब ९९ करोडमा सिमित भएको छ । 
 
जबकी गत आइतबार करिब ७ अर्बको कारोबार भएको थियो । तुलनात्मक गत आइतबारदेखि बुधबारसम्म आइपुग्दा नेप्से कारोबारमा झण्डै ५० प्रतिशतकै गिरावट आएको छ । 
 
बुधबार सबैभन्दा धेरै कमाउने कम्पनीहरूमा महिला लघुवित्त र विशाल बजार कम्पनी रहेको छ भने सबैभन्दा बढी गुमाउनेमा पोखरा फाइनान्स लिमिटेड र प्रोग्रेसिप फाइनान्स लिमिटेड रहेका छन् ।  
 
महिला लघुवित्त र विशाल बजारका लगानीकर्ताहरूले समान ९.९९ प्रतिशत कमाउँदा पोखरा फाइनान्स र प्रोग्रेसिप फाइनान्सका लगानीकर्ताहरुले क्रमशः ६.१५ प्रतिशत र ४.४९ प्रतिशतले गुमाएका छन् ।