उड्ने र गुड्ने बीच विभेद गरिएको भन्दै यातायात व्यवसायीहरुको गुनासो

आन्तरिक उडान पनि तत्काल बन्द गर्नुपर्ने सीसीएमसीको निष्कर्षमा:

बैशाख १६,२०७८

-आस्था न्यूज

वैशाख १६,२०७८ काठमाडौं ।
 
निषेधाज्ञा लागु भएको पूर्वसन्ध्यामा सीसीएमसी सचिवालयको एउटा टोली त्रिभुवन विमानस्थल पुगेर त्यहाको दृश्य हेरेपछि आन्तरिक उडान पनि तत्काल बन्द गर्नुपर्ने निष्कर्षमा पुगेको छ ।
 
सीसीएमसीमा आवद्ध एक सुरक्षा अधिकारीले विमानस्थलमा भिडभाड बनाएर निषेधाज्ञा सफल नहुँने बताए । विमान चढ्न जाने र ओर्लनेहरुका कारण सडकमा पनि सवारी साधनको बढ्ने र यसबाट संक्रमण फैलने डर रहेको ति अधिकारीले बताए ।
 
सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञाको घोषणा गरे पनि आन्तरिक र बाह्य हवाई उडान भने यथावतै राख्ने निर्णय गरेको छ । 
 
हवाई उडान बन्द नभएपछि उपत्यका आवत–जावत गर्नेहरुको भीड विमानस्थलमा बढेको हो ।
 
अहिलेको अवस्थामा सीसीएमसीको सचिवालयले चाहेर मात्रै हवाइ उडान रोकिँदैन । यसमा मन्त्रिपरिषदले नै चासो राख्नुपर्ने हुन्छ । सचिवालयका अधिकारीले आन्तरिक हवाई उडान तत्काल बन्द गर्न सीसीएमसी निर्देशक समितिमार्फत प्रधानमन्त्रीलाई अनुरोध गर्ने तयारी भइरहेको बताए ।
 
त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबावु तिवारीले विहीबार अन्तर्राष्ट्रियतर्फ २० उडान र २० अवतरण हुने तालिका रहेको जानकारी दिए ।
 
यता सरकारले सार्वजनिक यातायातका साधनहरुलाई बन्द गर्ने र हवाई यातायातलाई खुल्ला राख्ने नीति लिएसँगै व्यवसायीहरुले आक्रोश व्यक्त गरेका छन् ।। उड्ने र गुड्ने बीच नसुहाउँदो विभेद गरिएको भन्दै यातायात व्यवसायीहरुले अविलम्ब यस्तो विभेदकारी नीतिको अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।
 
‘सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा कोरोना लाग्ने तर हवाई यातायातमा यात्रा गर्दा चाहिँ कोरोना नलाग्ने भन्दै यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यस्तो विभेदकारी नीति हटाउन माग गरेका छन् ।
 
यदी सरकारले अटेर गरी विभेद जारी राखेमा निषेधाज्ञाकै बीच यातायातका साधन सडकमा ल्याउने चेतावनी दिए ।
 
आजबाट सार्वजनिक सवारी बन्द भएपनि एयरपोर्टहरुमा यात्रुहरूको भिडभाड बढेको छ ।