गंगालाल हृदयरोग केन्द्रको प्लान्टबाट अक्सिजन उत्पादन सुरु

बैशाख १९,२०७८

-आस्था न्यूज

वैशाख १९,२०७७ काठमाडौं । 
 
शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आइतबारदेखि अक्सिजन उत्पादन सुरु भएको छ । काठमाडौ महानगरपालिकाको सहयोगमा निर्माण भएको अक्सिजन प्लान्टको आइतबार एक समारोहबीच उद्घाटन भएसँगै अक्सिजन उत्पादनको काम सुरु भएको हो । 
 
२०७६ साल माघ १५ गते महानगरपालिका र केन्द्रबीच अक्सिजन प्लान्ट स्थापना गर्ने  सम्बन्धी सम्झौता भएको थियो । सो सम्झौता लगत्तै निर्माणको काम सुरु भएको अक्सिजन प्लान्टको आइतबार विधिवत शुभारम्भ गरिएको हो । 
 
प्लान्टको प्रतिदिन ६ हजार ३ सय ४५ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको छ । चलनमा रहेको अक्सिजन सिलिन्डर अनुसार, प्रतिदिन १ सय ३५ वटा सिलिन्डर उत्पादन हुनेछ । एउटा अक्सिजन सिलिन्डरमा ४७ लिटर अक्सिजन हुने गर्दछ । सो अक्सिजन प्लान्ट २ करोड ७५ लाख रुपैंयामा निर्माण भएको हो ।