Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

रेल सेवाका चार उच्च अधिकारी निलम्बित

भाद्र ०६,२०७४

-एजेन्सी

६ भाद्र/नयाँ दिल्ली-

भारतीय रेल सेवाका चार जना अधिकारीलाई रेलवे मन्त्रालयले निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा भारतीय रेलवे मन्त्रालयका सचिव पनि रहेका छन् । उत्तर प्रदेशमा शनिबार भएको रेल दुर्घटनामा उनीहरूको लापर्बाही देखिएको ठहर गर्दै निलम्बन गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

भारतको उत्तर प्रदेशमा भएको रेल दुर्घटनामा परी सोमबार मात्र कम्तीमा २३ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा अरू ४० जना घाइते भएका थिए । रेलमार्गमा रेल रोकेर यात्रु उतार्ने क्रममा शनिबार अपराह्न सो रेल दुर्घटनाग्रस्त भएको थियो । रेलले लिक छोडेर बाहिर निस्किएको र अर्काे रेलको डिब्बामा गएर ठोक्किएको थियो ।

भारतको राजधानी सहर नयाँ दिल्लीबाट झन्डै सय किलोमिटर टाढा पर्ने मुजफ्फरनगर जिल्लामा सो दुर्घटना भएको हो । शनिबार भएको सो दुर्घटनाको छानबिन सुरु भएको थियो । सो छानबिनका क्रममा रेल सेवाका उच्च ती चार जना अधिकारीको लापर्बाही देखिएको समाचारमा जनाइएको छ । जसका कारण उनीहरूमाथि यो कारबाही अघि बढाइएको थियो ।

सो दुर्घटनाका कारण क्षतिग्रस्त रेलको डिब्बाभित्र अरू केही व्यक्ति पनि पुरिएको हुन सक्ने आशंका गर्दै मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको थियो । तर प्रहरीले त्यहाँ परेका थप व्यक्तिका बारेमा कुनै समाचार सार्वजनिक भने गरेको छैन ।

भारतीय रेलमन्त्री सुरेश प्रभुले यस दुःखद् घटनाको अनुसन्धान गरी कारण पत्ता लगाउने व्यवस्था गरिसकेको जानकारी दिए । उनले घटनाप्रति दुःख व्यक्त गर्दै घटनालाई नजिकबाट नियालिरहेको बताएका थिए ।

भारतमा बेलाबेलामा ठूला रेल दुर्घटना हुने गरेका छन् । अघिल्लो वर्ष भएका रेल दुर्घटनामा परी उत्तर प्रदेशमा मात्रै १ सय ४५ जनाको मृत्यु भएको थियो भने अरू २ सय जना घाइते भएका थिए ।