दैनिक उपभोग्य वस्तु तीन महिनालाई पुग्ने गरि स्टक राखिएको विभागको भनाई

बैशाख २१,२०७८

-आस्था न्यूज

वैशाख २१, २०७८ काठमाडौं ।
चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तु तीन महिनाको लागि स्टक रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ । 
 
विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्यवस्तुहरु पूर्ण रुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा स्टक रहेको बताएका हुन् । 
 
उपभोग्य खाद्यबस्तुको आपुर्ति सहज रुपमा भइरहेको पौडेलले बताए । महानिर्देशक पौडेलले बजारमा खाद्य पद्धार्थको उपलब्धता सहज रुपमा हुने भन्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी खरिद संचय पनि आग्रह गरे । 
 
खाद्यपद्धार्थको अभाव नहुने भएकाले आत्तिनु नपर्ने उनले बताउ । उनले भने, ‘चामल, दाल, नुन, तेल, चिनी लगायतका न्युनतम बस्तुको स्टक करिब ३ महिनालाई अझैपनि हामीलाई सप्लाइमा समस्या छैन । नआएपनि पुग्छ । खाद्य पद्धार्थको आपुर्ति सहज छ । 
 
दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविक मुल्यवृद्धि भएको खण्डमा मूल्यवृद्धि गराउनेलाई कारबाही गरिने महानिर्देशक पौडेले बताए । बजारको अवस्थाको सम्बन्धमा विभागले दैनिक रुपमा अनुगमन गरिरहेको उनको भनाइ छ ।
 
उनले दैनिक उपभोग्य वस्तुको आयातमा कुनैपनि प्रकारको समस्या नभएको पनि बताए । 
 
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले भने बजारमा आपुर्तिको समस्या नभएपनि केही दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविक रुपमा मुल्यवृद्धि भइरहेको बताए । विभागले बजार अनुगमन गरी कालोबजारी गर्नेलाई कडा कारबाही गर्नुपर्ने उनको भनाइ छ । 
 
यस्तो परिस्थितिमा बजारमा कालोबजारी गर्नेलाई आर्थिक दण्डसहित काराकारसम्मको कडा कारबाही गर्नुपर्ने उपभोक्ता अधिकारकर्मीले बताएका छन् ।