वीर अस्पताललाई कोरोनाको ८०० बेडको ‘डेडिकेटेड युनिफाइड कमाण्ड’ अस्पताल बनाउने

बिशेष आदेश मार्फत स्वास्थ्य मन्त्रालय आफैले संचालन गर्दै

बैशाख २५,२०७८

-आस्था न्युज

सरकारले काठमाडौँको वीर अस्पताललाई कोरोनाको ‘डेडिकेटेड युनिफाइड कमाण्ड’ अस्पताल बनाउने भएको छ l यसका लागि वीर अस्पताललाई स्वास्थ्य मन्त्रालय आफैंले सञ्चालन गर्ने भएको छ।

 

स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयले संक्रामक रोग ऐन अन्तर्गत मन्त्रिपरिषदबाट विशेष आदेश जारी गरी वीरलाई आफैं चलाउन लागेको हो। आजै बस्ने मन्त्रिपरिषदको बैठकबाट सो आदेश जारी गर्ने बताईएको छ l

 

वीरमा कम्तीमा पनि  ८ सय बेड सञ्चालन गर्न सकिने छ। साधारण बिरामीलाई एक सय शैया र कोरोना उपचारमा  सात सय शैया प्रयोग गर्ने तयारी छ । पन्ध्र दिनभित्रै सम्पूर्ण कार्य सक्ने मन्त्रालयले अन्तरिक  तयारी गरिरहेको छ ।

 

वीर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत रहेको वीर अस्पताल कोभिड महामारी नियन्त्रणमा प्रभावकारी कार्य र परिचालनका लागि स्वास्थ्य मन्त्रालय आफैंले चलाउने लागेको  हो।। न्याम्सले अब वीर अस्पताल अन्तर्गत एकेडेमिक पाटो मात्रै हेर्नेछ।

 

सरकारले बिशेष आदेश जारि गर्दै वीरको नयाँ भवनबाट  कोरोनाको ‘डेडिकेटेड युनिफाइड कमाण्ड’ अस्पताल संचालन गर्दै छ l  जस अन्तर्गत कोभिडका लागि तत्कालै तीन सय बेड अक्सिजनसहितको आइसियू, एक सय बेड आइसियू र ५० बेड भेन्टिलेटर सहितको व्यवस्था गर्न लागिएको छ l

 

कोरोना ‘डेडिकेटेड युनिफाइड कमाण्ड’ अस्पताल संचालन गर्न स्वास्थ्य मन्त्रालयले सञ्चालक समिति गठन गर्ने छ।

श्रोतका अनुसार डा. रोशन पोखरेलको नेतृत्वमा सञ्चालक समिति गठन गरिने छ। देशैभरिको बेडको अवस्था हेर्न सोही अस्पतालमा वार रुम गठन गरिने भएको छ। त्यस्तै डा. गुणराज लोहनीको नेतृत्वमा वार रुम गठन गरिनेछ । जहाँबाट अस्पतालमा उपचार कसरी भइरहेको छ, आइसियू, अक्सिजन बेडको अवस्था के छ सबै हेर्न सकिने छ l