चिकित्सकको लापरवाही भन्दै मृतकका आफन्तले जनकपुरधामको कोभिड अस्पताल तोडफोड

बैशाख २९,२०७८

-

२९ वैशाख, जनकपुर । प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गतको कोरोना अस्पतालभित्र तोडफोड गरिएको छ  । चिकित्सकहरुले लापरबाहीका कारण एक बिरामीको मृत्यु भएको भन्दै  आफन्तले अस्पताल तोडफोड गरेका हुन् l

 

जलेश्वर नगरपालिका ४ कि  ५५ वर्षीय सुखीचन महतोलाई श्वासप्रश्वासमा समस्या भएपछि महोत्तरीको जलेश्वर अस्पतालबाट थप उपचारको लागि भनि प्रादेशिक अस्पताल जनकपुरको कोरोना अस्पताल ल्याइएकोमा निजको मृत्यु भएको थियो ।

 

भेन्टिलेटरमा राखेर  उपचार भइरहेकोमा चिकित्सकको लापरबाही गरेको आरोप लगाउँदै बिरामीलाई चन्द्रकला अस्पताल लैजान खोज्दा महतोको मृत्यु भएको थियो ।

 

तमृतकका  छोराहरू वर्ष ३४ का मनोज महतो र वर्ष २७ का पप्पु महतोले अस्पतालले लापरवाही गरेर आमाको मृत्यु भएको भन्दै अस्पतालको उपकरणहरु तोडफोड गर्नुका साथै  चिकित्सकमाथि हातपात गरेको धनुषा प्रहरी कार्यालयले बताएको छ  ।

 

तोडफोडका कारण अस्पतालको  तीन वटा भेन्टिलटर बिग्रेको र अन्य उपकरणमा समेत क्षति पुगेको  कोरोना अस्पतालका प्रवक्ता डा. मनीष पाण्डेले जानकारी दिएका छन्  । स्टाफ नर्ससहित चार जना स्वास्थ्यकर्मीमाथि हातपात गरेका र  दुई जना घाइते भएको डा. पाण्डेले बताए ।

 

 

प्रदेश सरकारले हालै मात्र यस अस्पताललाई ८ वटा भेन्टिलेटर जडान गरिदिएको थियो । तोडफोडमा संलग्न दुवै जनालाई  नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।