चालु आर्थिक वर्षको १० महिनामा विकास बजेट ३६ प्रतिशत मात्रै खर्च
-आस्था न्यूज
जेठ २,२०७८ काठमाडौं ।
चालु आर्थिक वर्ष २०७७/७८ को १० औं महिना (साउन-वैशाख) पुरा भएको छ । यसअविधमा विकास (पुँजीगत) खर्च भने करिब ३६ प्रतिशत मात्रै छ ।
यसले यो वर्ष पनि नेपालको आर्थिक वृद्धि र पुँजी वृद्धि प्रभावित हुने निश्चित भएको छ । खासगरी यो वर्ष सम्पन्न हुने भनिएका राष्ट्रिय गौरवका आयोजना समेत कोरोना महामारीका कारण पछाडि धकेलिएसँगै विकास बजेट प्रभावित बनेको हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्म १ खर्ब २५ अर्ब ७७ करोड रुपैयाँ विकास बजेट खर्च भएको छ । यो कुल लक्ष्यको ३५.६४ प्रतिशत हो ।
यो वर्ष सरकारले ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ विकास बजेट खर्च गर्ने लक्ष्य राखेको थियो । यो वर्ष वैशाखको प्रारम्भबाटै विभिन्न जिल्लामा प्रतिवन्ध शुरु भयो । त्यसको असर विकास निर्माण र बजेट खर्चमा परेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्म कुल बजेट खर्च ५५.९३ प्रतिशत भएको छ । यो वर्ष सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट कार्यान्वयन गरिरहेको छ । वैशाखसम्म ८ खर्ब २४ अर्ब ७९० करोड रुपैयाँ बजेट खर्च भएको छ ।
यसमध्ये ६ खर्ब ३० अर्ब २१ करोड रुपैयाँ भने चालु खर्च हो । चालु खर्च लक्ष्यको ६६.४१ प्रतिशत खर्च भइसकेको छ । चालु खर्चभित्र स्थानीय तह र प्रदेशमा जाने अनुदान समेत पर्छ ।
जुन ती सरकारहरुले पुँजीगत काममा समेत खर्च गर्न सक्छन् । यो अवधिमा वित्तीय व्यवस्थातर्फ ३९.७७ प्रतिशत खर्च प्रगति देखिएको छ ।