आजबाट लकडाउन खुकुलो

जेठ ०३,२०७८

-आस्था न्यूज

जेष्ठ ३,२०७८ काठमाडौं ।
इंग्ल्याण्डमा गत वर्षको अन्तबाट शुरु भएको लकडाउन आज मे १७ बाट खुकुलो गरिएको छ । 
 
लकडाउनपछि टेकअवेमा मात्र सिमित रहेका रेष्टुरेन्ट, पब तथा क्याफेहरूमा अघिल्लो हप्ताबाट आउटडोर अर्थात बाहिर बसेर खानपिन गर्न पाउने नियम लागू गरिएको थियो । 
 
सरकारको रोडम्याप अनुसार नै आजबाट लकडाउनको तेस्रो चरण अनुसार थप सहज गरिएको हो ।
 
सन् २०२१ शुरु भएयता पहिलोपटक पब, बार , क्याफे र रेष्टुरेन्टमा  इन्डोर सर्भिस संचालन भएको छ,  तर टेबल सर्भिस मात्र अनुमति दिइएको छ ।  
 
यसैगरी मानिसहरु ६ जनासम्मको समूह वा दुई परिवार घरभित्र भेटघाट गर्न र रात बिताउन (ओभर नाइट) पाउने भएका छन् । केहि समय अघिबाट घरबाहिर गार्डेनमा मात्र भेटघाट गर्न पाउने नियम लागू गरिएको थियो । होटल, होस्टल, बी एण्ड बी पुनः सुचारु भएका छन् ।
 
लामो समयसम्म टेकअवे सर्भिसमा सिमित रहेका नेपाली रेष्टुरेन्ट व्यवसायीहरु सरकारको नयाँ नियमसँगै आशावादी र उत्साहित भएका छन् । केहि दिन अघिबाट आउटडोर सर्भिस संचालन गर्न अनुमति पाएपनि अधिकांश नेपाली रेस्टुरेन्टहरुमा इन्डोर सुविधा मात्र उपलब्ध भएकाले त्यसबाट खासै लाभान्वित नभएको उनीहरु बताउछन् । 
 
नयाँ नियम अनुसार अब झण्डै एक वर्षपछि मानिसहरु अंकमाल गर्न पाउनेछन् । तर, सरकारले निकट सम्पर्क हुँदा भाइरसको जोखिम बढी हुने भएकाले सचेत रहन भने अपिल गरेको छ ।
 
बिहे वा रिसेप्सनमा ३० जनासम्म अतिथि बोलाएर रमाइलो गर्न अनुमति दिइएको छ । तर, बिहे समारोहमा नाच्न भने अझै प्रतिवन्ध छ ।
 
अन्त्येष्टिमा यसअघि तोकिएको सिमित संख्या सहभागी हुन पाउने नियम हटाइएको छ । यद्यपि, ठाउँ हेरि सहभागितामा नियन्त्रण गर्न सकिनेछ ।
 
सिनेमा, थिएटर, कन्सर्ट हल र संग्रहालय पुनः खुलेका छन् । यसका साथै केटाकेटीको खेल क्षेत्र, इन्डोर खेल गतिविधि र अभ्यास कक्षाहरू, साना र स्टिम कोठा पनि खुल्ला भएका छन् ।
 
एडल्ट सोसल केयर, मेडिकल, रिटेल, हस्पिटालिटी र बिजनेस सेटिङमा भने सामाजिक दूरी नियम कायमै छ ।
 
केयर होम बस्नेले ५ जनासम्म नाम तोकिएका आगन्तुक बोलाउन पाउनेछन् । अब आउटडोर वृहत खेल र अन्य इभेन्ट्समा ४ हजारसम्म, ठूला इन्डोर इभेन्ट्समा एक हजार र रंगशालामा हुने ठूला खेलमा १० हजारसम्म दर्शक जान सक्नेछन् ।
 
सरकारले ग्रीन लिस्टमा परेका देशहरु पोर्चुगल, जिब्रलटार, इजरायल, अष्ट्रेलिया, न्यूजिल्याण्ड, सिंगापुर, ब्रुनाइ, आइसल्याण्ड, फारोइ आइल्याण्ड र ब्रिटिश टेरोटोरीमा पर्ने साना आइल्याण्डहरुमा होलिडे जान छुट दिएको छ ।
 
कोरोना संक्रमण, मृत्यु दर र अस्पताल भर्ना हुनेको संख्यामा कमी आएसँगै सरकारको पूर्व घोषित रोडम्याप अनुरुप आजबाट तेश्रो चरणमा लकडाउन थप सहज गरिएको हो  । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गत शुक्रबार नयाँ भेरियन्टको डर बाबजुद सरकार पूर्व निर्धारित रोडम्याप अनुसार नै अगाडि बढ्ने बताएका थिए । अर्को जुन २१ को रोडम्याप भने नयाँ भेरियन्ट बढे ढिलाइ हुन सक्ने सम्भावना छ ।