इजरायल र प्यालेस्टाइनबीच युद्धविरामको सहमति

जेठ ०७,२०७८

-आस्था न्यूज

जेठ ७, २०७८ काठमाडौं ।
इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ ।
 
दुई देशबीचको सहमतिअनुसार स्थानीय समयअनुसार शुक्रवार बिहान २ बजे अर्थात आज बिहानदेखि युद्धविराम सुरु भएको बीबीसीले जनाएको छ । 
 
इजिप्टको प्रस्ताव अनुसार युद्धरत दुई देशले युद्धविरामको सहमति गरेका हुन् । थप वार्ताका लागि इजिप्टले इजरायल र प्यालेस्टाइनमा प्रतिनिधिहरु पठाउने बताइएको छ । 
 
प्यालेस्टाइनले केही दिनदेखि युद्धविरामको पहल गरिरहे पनि इजरायलले मानेको थिएन । अहिले पूर्वसर्त बिना युद्धविरामका लागि इजरायलले सहमति जनाएको बीबीसीले जनाएको छ । 
 
अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामप्रति खुशी व्यक्त गर्दै इजरायलले आफ्नो सुरक्षाका अधिकार प्रयोग गर्नेमा विश्वास रहेको बताउनुभएको छ ।
 
दुई देशबीच भएको ११ दिनको युद्धमा प्यालेस्टाइनको गाजा क्षेत्रमा कम्तीमा दुई सय २७ जनाको ज्यान गएको छ भने हमासको आक्रमणबाट इजरायलतर्फ १२ जनाको ज्यान गएको छ । दुवैतर्फ ठूला भवनलक्षित रकेट तथा हवाई आक्रमणहरु भएका छन् ।