Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

धर्मगुरु बलात्कारी भएको पुष्टि,हिंसामा ३१ को मृत्यु

भाद्र ११,२०७४

-एजेन्सी

 
११ भाद्र/पञ्चकुला-
 उत्तरी भारतमा सयौं सैनिक परिचालनका बाबजुद भएको हिंसामा परी कम्तीमा पनि ३१ जनाको मृत्यु भएको छ भने अन्य २ सय ५० भन्दा बढी घाइते भएका छन् ।
मारिनेमध्ये २९ जना पञ्चकुला र २ जना सिरसाका रहेका छन् । आफ्ना करोडौं समर्थक रहेको दाबी गर्ने धर्मगुरु गुरमित राम रहिम सिंहलाई झन्डै १५ वर्षअघि दुईजना महिलालाई बलात्कार गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो । धर्मगुरुलाई बलात्कारको आरोपमा दोषी ठहर गर्दै फैसला आएपछि भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मी समेत घाइते भएका छन् ।
 
गैरनाफामूलक सामाजिक तथा आध्यात्मिक संस्था ‘डेरा’ का प्रमुखसमेत रहेका सिंहका समर्थकले भारतका विभिन्न सहरमा प्रदर्शन गरेका छन् । हरियाणा राज्यको पञ्चकुला सहरमा सिंहका हजारौं समर्थकले अदालतको फैसलाको विरोध गर्दै स्थानीय टेलिभिजनका गाडी, सार्वजनिक तथा निजी सवारीसाधन, भवनलगायतमा तोडफोड गरेका छन् ।
उनीहरूले कतिपय ठाउँमा आगजनीसमेत गरेको सरकारी अधिकारीले बताएका छन् । हरियाणा र छिमेकी राष्ट्र पञ्जावमा मोबाइल फोन सेवा अवरुद्ध भएको छ । हिंसा थप बढ्न नदिन शुक्रबार बेलुकादेखि नै सरकारले उच्च सुरक्षा सतर्कता बढाएको छ ।
 
सिंहले आफ्ना दुई जना अनुयायीलाई बलात्कार गरेको ठहरसहित अदालतले शुक्रबार उनलाई दोषी भएको ठहर गरेको हो । सीबीआईका न्यायाधीश जगदीप सिंहका अनुसार ५० वर्षीय डेरा प्रमुखलाई दोषी ठहर गर्दै २८ अगस्टमा सजाय सुनाइनेछ । सिंहका अनुसार गुरमितलाई सातदेखि १० वर्षसम्मको कैद हुनसक्नेछ ।
प्रदर्शनका क्रममा ५० जना प्रहरी तथा सुरक्षाकर्मीसहित झन्डै २ सय जना घाइते भएको सरकारी अधिकारीले जनाएका छन् । प्रहरीले हरियाणा, पञ्जाव र राजस्थानसमेतका सहरमा व्यापक हस्तक्षेप गरेको र अश्रुग्याँस, पानीका फोहरा, हवाई फाएर गरेको प्रदर्शनकारीले जनाएका छन् ।
प्रदर्शनकारीले जुलुसमा सहभागीलाई ताकेरै गोली चलाएको दाबी पनि गरेका छन् । ५० वर्षीय गुरमितका विश्वभर ६ करोड समर्थक रहेको अनुमान गरिएको छ ।