Trending :
 

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इराकसँग नेपाल पराजित

जेठ १६,२०७८

-आस्था न्यूज

जेठ १६,२०७८ काठमाडौं ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग पराजित भएको छ । शनिबार इराकको बसरामा आयोजित खेलमा नेपाली राष्ट्रिय टिम इराकसँग ६-२ ले पराजित भएको हो ।
 
खेलको ७औं मिनेटमा इराकले कप्तान अला अब्दुल जहर खासिनको गोलमा अग्रता बनाएको थियो । तर त्यसको एक मिनेटमै इराकका अहमद इब्राहिमले आत्मघाती गोल गरेका थिए । त्यसपछि खेलको ३०औं मिनेटमा मनीष डाँगीले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाएका थिए ।
 
मनीषले अन्तर्राष्ट्रिय खेलमा शनिबार नै डेब्यु गरेका हुन् । खेलको ३५औं मिनेटमा मोहम्मद अब्दुलजारा ओबेदले इराकका लागि बराबरी गोल फर्काए । त्यसलगत्तै नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाउँदै इराकका लागि अयमन हुसेनले गोल गरे । त्यस्तै इराकका लागि ६७औं मिनेटमा मोहम्मद अली अलसम्मारी र ७५औं मिनेटमा सज्जाद जसिमले गोल गरे ।
 
विश्वकप छनोटको तयारीमा रहेको फिफा वरीयताको १७१औं स्थानमा रहेको नेपाली फुटबल टिमले १०३ स्थानमाथिको इराकविरूद्ध मैत्रीपूर्ण खेल खेलेको हो ।
 
त्यस्तै राष्ट्रिय टिमका नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरी को नेतृत्वमा नेपालले पहिलोपल्ट खेलेको हो । नेपालले यसअघि इराकसँग ३ पटक खेलेको थियो । सन् १९८२ मा एसियाली खेलकुदमा नेपाल इराकसँग ३-० ले हारेको थियफ । त्यस्तै विश्वकप छनोटअन्तर्गत सन् २००१ मा नेपाल इराकसँग ९-१ र ४-२ ले हारेको थियो ।
 
नेपालले अब विश्वकप छनोटका बाँकी खेल खेल्नका लागि कुवेत जानेछ । नेपालले जुन ३ मा चाइनिज ताइपेई, जुन ७ मा जोर्डन र जुन ११ मा अस्ट्रेलियासँग खेल्नेछ ।