बजेटमा ओलीको गृहजिल्ला झापा उच्च प्राथमिकतामा
-आस्था न्यूज
जेठ १६,२०७८ काठमाडौं ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/८९ को वार्षिक बजेटमा प्रधानमन्त्रीको गृहजिल्ला झापा उच्च प्राथमिकतामा परेको छ ।
झापाको दमकमा ‘बहुतले बसपार्क’ सहितको सिटी पार्क निर्माण गर्न बजेट छुट्ट्याएइको छ । दमकमै गुणस्तरीय शिक्षासहितको चिल्ड्रेन प्याराडाइज’ स्थापना गरिने भएको छ । दमकमै अन्तर्राष्ट्रिय स्तरको ‘मदन भण्डारी रङ्गशाला’ निर्माण गरी दुई वर्षभित्र सञ्चालनमा ल्याइने भएको छ ।
यसै गरी दमकमै आगामी दुई वर्षमा ‘औद्योगिक क्षेत्र’ को पूर्वधार निर्माण गरिने भएको छ । ‘औद्योगिक क्षेत्र’ को पूर्वधार निर्माणका लागि मकवानपुरको मयुरधाप, रुपन्देहीको मोतीपुर, बाँकेको नौवस्ता, कैलालीको लम्की र कञ्चनपुरको दैजी पनि छानिएका छन् ।
दमकमा ‘ढल प्रशोधन केन्द्र’ निर्माण गरिने भएको छ । जनकपुर, वीरगञ्ज र नेपालगञ्ज सहितका अन्य सात वटा शहरमा पनि ‘ढल प्रशोधन केन्द्र’ निर्माण गरिने भएको छ ।
झापाको मेचीनगरमा ‘कृषि थोक बजार’ स्थापना गरिने भएको छ । चन्द्रगढीको कृषि फर्मलाई ‘सेन्टर अफ एक्सिलेन्स’ का रूपमा विकास गरी सञ्चालनमा ल्याइने भएको छ ।
भद्रपुर बजारलाई नदी कटानबाट संरक्षण गर्न बजेट छुट्ट्याइएको छ । नदी कटानबाट संरक्षणका लागि म्याग्दीको बेनी, डोल्पाको दुनै, बझाङको चैनपुर र दार्चुलाको खलङ्गा पनि छानिएका छन् ।
विर्तामोड-चन्द्रगढी नगरपालिकालाई मेगा सिटीमा विकास गरिने भएको छ । मेगा सिटीका लागि धरान-इटहरी, जानकपुर–ढल्केवर, बुटवल-भैरहवा, कोहलपुर-नेपालगञ्ज र अत्तरिया-धनगढी पनि छानिएका छन् ।