ताइपेईमाथि नेपालको दोहोरो जित, चौथो स्थान पक्का
-आस्था न्यूज
जेठ २१, २०७८ काठमाडौं ।
अञ्जन विष्ट र वैकल्पिक खेलाडी नवयुग श्रेष्ठको गोलमा नेपालले विश्वकप २०२२ र एसियन कप २०२३ छनोटमा बिहीबार चाइनिज ताइपेर्ईमाथि २-० को जित हात पारेको छ । ताइवानी टिमविरुद्ध दुवै खेल जितेसँगै नेपालले समूह ‘बी’ मा कम्तीमा चौथो स्थान पक्का गर्नेछ ।
कुवेत सिटीस्थित जाबेर अल–हमाद अन्तर्राष्ट्रिय रंगशालामा अञ्जनले पेनाल्टीमा गोल गर्दै तेस्रो मिनेटमै नेपाललाई अग्रता दिलाए । ताइवानी डिफेन्डर चेन हाओले पेनाल्टी क्षेत्रमा हातले बल छोएपछि रेफ्रीले नेपाललाई पेनाल्टीको अवसर दिएको थियो । त्यसमा १९ वर्षीय अञ्जनको प्रहार सटिक रह्यो र नेपालले १-० को अग्रता लियो । अञ्जनको चौथो अन्तर्राष्ट्रिय गोल हो यो ।
नेपालले यही विश्वकप छनोटको ताइपेर्ईमा भएको खेलमा पनि २-० कै जित हात पारेको थियो । त्यसमा दुवै गोल अञ्जनले गरेका थिए । गत शनिबार बासरामा इराकविरुद्ध ६-२ ले हारेको खेलमा नेपालको पहिलो गोल पनि उनकै नाममा रहेको छ । कुवेतको चर्को गर्मीमा भएको खेलमा बिहीबार अञ्जनले २४ औं मिनेटमा दुई डिफेन्सलाई छक्याउँदै राम्रो अवसर सिर्जना गरेका थिए । तर, त्यसमा उनको प्रहार सिधै गोलकिपर सिह सिन–आनको हातमा पुग्यो ।
दोस्रो हाफमा ताइवानी टिमको वर्चस्व रह्यो । तर, अधिकांश समय बल नियन्त्रणमा राखेर पनि उसले गोलको सहज अवसर सिर्जना गर्न भने सकेन । दोस्रो हाफमा मैदानमा प्रवेश गरेका मनीष डाँगीले ८० औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरियो ।
त्यो अवसरमा मनीषले नजिकै अनमार्क रहेका सहकर्मीलाई दिएको भए गोलको राम्रो अवसर मिल्न सक्थ्यो । मनीषले इराकविरुद्ध मैत्रीपूर्ण खेलमा नेपालको दोस्रो गोल गरेका थिए, जुन निकै उत्कृष्ट थियो ।