Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

कोरियाली तनावको शान्तिपूर्ण समाधान खोज्छौं :टिलरसन

भाद्र १३,२०७४

-एजेन्सी

१३ भाद्र/वासिंगटन-

अमेरिकी विदेशमन्त्री रिक्स टिलरसनले कोरियाली प्रायद्वीपमा जारी तनावको शान्तिपूर्ण समाधान खोज्ने बताएका छन् ।उत्तर कोरियाले पछिल्ला केही वर्षदेखि नै आफ्नो आणविक क्षमता विस्तारमा जोड दिएपछि अमेरिका र उत्तर कोरियाबीच विवाद चर्केको छ । उत्तर कोरियाको आणविक कार्यक्रमका कारण कोरियाली प्रायद्वीपमा तनाव जारी छ ।

अमेरिकी विदेशमन्त्री टिलरसनले उत्तर कोरियाले सो क्षेत्रमा गैरजिम्मेवारपूर्ण रूपमा  हिंस्रक व्यवहार देखाइरहेको आरोप लगाउँदै अमेरिका शान्तिपूर्ण समाधानको पक्षमा रहेको दाबी गरेका हुन् ।

उत्तर कोरियाको विरोधका बाबजुद अमेरिका र दक्षिण कोरियाले दक्षिण कोरियामा संयुक्त सैन्य अभ्यास सुरु गरेपछि उत्तर कोरियाले दुई दिनअघि तीनवटा क्षेप्यास्त्र परीक्षण गरेको थियो । अमेरिका र संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि गत महिना लगाएको कडा प्रतिबन्धका बाबजुद उसले आफ्ना गतिविधिलाई निरन्तरता दिएको छ ।

विदेशमन्त्री टिलरसनले सो क्षेत्रमा शान्तिपूर्णबाहेकको अर्काे विकल्पले कसैलाई पनि फाइदा नगर्ने बताए । एक अन्तर्वार्ताका क्रममा उनले भने, ‘उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा जारी राखेको क्रियाकलाप उत्तेजकबाहेक अरू केही होइन, यसले खासगरी अमेरिकालाई नै बढी तारो बनाएको देखिन्छ । तर उसले अमेरिकालाई तारो बनाएको भए पनि हामीले भने यसको समाधानको विकल्प शान्ति प्रक्रिया नै देखेका छौं ।’

विदेशमन्त्री टिलरसनले भने, ‘हामी यसको समाधानमा लागिरहेका छौं । हामीले चीनलाई पनि भनेका छौं र उसका अरू सहयोगी देशलाई पनि हाम्रो अनुरोध यो छ कि जसरी सकिन्छ शान्तिपूर्ण समाधान टेबुलमा नै बसेर गर्नुपर्छ भनेर हामी लागिपरेका छौं ।’

उत्तर कोरियाले पछिल्लो समयमा गरेको एक क्षेप्यास्त्र परीक्षणपछि अमेरिकाको यो प्रतिक्रिया आएको हो । अमेरिकाले उत्तर कोरियाको पछिल्लो क्षेप्यास्त्र परीक्षणले आफूलाई कुनै खतरा नरहेको बताएको थियो ।

यसैबीच केही दिनअघि मात्र अमेरिका र दक्षिण कोरियाले दक्षिण कोरियाली राजधानी सोलमा संयुक्त सैन्य अभ्यास गरेका थिए । यो संयुक्त सैन्य अभ्यास यी दुई देशको नियमित प्रक्रिया भएको बताइए पनि उत्तर कोरियाले भने यसलाई आफूविरुद्धको उत्तेजनाका रूपमा हेरेको छ ।

दुई साताअघि मात्रै अमेरिकी नियन्त्रणमा रहेको प्रशान्त महासागरमा रहेको गुआम टापुमा उत्तर कोरियाले आक्रमणको धम्की दिएको थियो । यद्यपि उसले अमेरिकाको गतिविधिलाई हेरेर मात्रै यसबारेमा थप निष्कर्षमा पुग्ने बताएको छ ।