चुरेको गिट्टी, बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्नुः सर्वोच्च

आषाढ ०४,२०७८

-आस्था न्यूज

असार ४,२०७८ काठमाडौं ।
चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेको हो । रिट निवेदनको सुनुवाइका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो नेतृत्वमा न्यायाधीश दीपक कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भर प्रसाद श्रेष्ठ सम्मिलित इजलास गठन गरेका थिए ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता डा. पुण्य प्रसाद खतिवडासहितले सरकारले आर्थिक वर्ष ०७८-७९ को बजेटमार्फत गरेको सो निर्णय कार्यान्वयनमा तत्काल रोक लगाउन माग गरेका थिए । संसद विघटन गरेर सरकारले अध्यादेश मार्फत आर्थिक वर्ष ०७८-७९ को बजेट ल्याएको हुनाले सो बजेको वैधताको पनि ब्याख्या गर्न रिट निवेदकले माग गरेका थिए ।
 
‘बजेटको बुँदा नम्बर १९९ मा खानीजन्य ढुंगा, गिट्टी र बालुवा विक्री गर्ने निर्णय गरिएको छ, त्यो देश हितमा छैन’ रिट निवेदक मध्येका अधिवक्ता डा। पुण्य प्रसाद खतिवडाले रातोपाटीसँग भने–‘सो निर्णय कार्यान्वयनमा तत्काल रोक लगाउन अन्तरिम आदेश माग गरेका थियौँ ।’
 
संवैधानिक इजलासले अन्तरिम आदेश जारी गर्दै सरकारलाई ‘कारण देखाउ आदेश’ दिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले चुरेको ढुंगा, गिटी निकासी गर्ने निर्णय बन्द गरेर चुरे संरक्षणका लागी प्राधिकरण बनाउन समेत माग गरिएको बताए ।
 
संवैधानिक इजलासमा बहस गर्दै अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले  चुरे प्राकृतिक सम्पदा भएको हुनाले सम्पदा दोहन गर्दा राष्ट्रलाई नै जटील मोडमा लैजाने बताए ।