आइतबार सबै समूहको शेयर ओरालो

आषाढ ०६,२०७८

-आस्था न्यूज

असार ६,२०७८ काठमाडौं ।
हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से ६३ अंकभन्दा धेरैले घटेको छ ।
 
सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ६३ दशमलव २८ अङ्कले घटेर दुई हजार नौ सय पाँच दशमलव १४ विन्दुमा झरेको छ ।
 
आइतबार बैंकिङ समूहको शेयर ३५ दशमलव ४१ अङ्कले घटेको छ । यस्तै व्यापारको ९८ अङ्कले, होटलको ८८, विकास बैंकको एक सय ६५, जलविद्युतको एक सय एक, फाइनान्सको ८०, माइक्रोफाइनान्सको एक सय १७, जीवन बीमा समूहको तीन सय १० र निर्जीवन बीमा समूहको दुई सय ७९ अङ्कले ओरालो लागेको छ ।
 
यस्तै उत्पादन समूहको एक सय ४९, अन्यको ५१ र लगानी समूहको शेयर एक सय सात अङ्कले घटेको छ ।
 
नेप्से घटेसँगै कारोबार रकम पनि झन्डै १२ अर्ब रुपैयाँमै सीमित भएको छ । दुई सय ३१ कम्पनीका दुई करोड ७३ लाख ४४ हजार कित्ता शेयर ११ अर्ब ८१ करोड रुपैयाँमा किनबेच भएका छन् ।
 
सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ८० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यस दिन युनियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।
 
त्यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्सको मूल्य ८।८ प्रतिशतले घटेको छ । बरुण र नेपाल हाइड्रो डेपलपरको मूल्य ८।७ प्रतिशतले घटेको छ ।
 
नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीलाई जोखिमयुक्त भनी व्याख्या गर्दै लगानी गर्नुपूर्व संयमता अपनाउन आग्रह गरेयता बजार निरन्तर ओरालो लागेको छ ।