रुसलाई हराउँदै डेनमार्क युरोकपको अन्तिम १६ मा प्रवेश

आषाढ ०८,२०७८

-आस्था न्यूज

असार ८, २०७८ काठमाडौं ।
सुरुवाती दुई खेल हारे पनि रुसमाथि सनसनीपूर्ण जित हात पार्दै डेनमार्क युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ ।
 
समूह ‘बी’ अन्तर्गत सोमबार राति भएको खेलमा रुसलाई ४९१ ले पराजित गर्दै डेनमार्क समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो ।
 
घरेलु मैदान पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक-एक गोल गरे । रुसका आर्टम ज्यूबाले एक गोल फर्काए ।
 
खेलको ३८ औं मिनेटमा डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा पाउलसेनले गोल गर्दै डेनमार्कको अग्रता २-० को बनाए ।
 
७० औं मिनेटमा रुसका ज्युबाले पेनाल्टीमा गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । तर ७९ औं मिनेटमा क्रिस्टियनसेन र ८२ औं मिनेटमा जोकिमले गोल गर्दै डेनमार्कलाई ४-१ को जित दिलाए ।
 
यस जितपछि डेनमार्क ३ खेलबाट ३ अंक सहित समूह बी को उपविजेता बन्यो । फिनल्याण्ड र रुस समान ३ अंक भएपनि डेनमार्क गोल अन्तरमा अघि रहेको छ ।
 
डेनमार्क पहिलो खेलमा फिनल्याण्डसँग १-० ले र दोस्रो खेलमा बेल्जियमसँग २-१ ले पराजित भएको थियो ।
 
डेनमार्कसँग पराजित रुस भने अन्तिम स्थानमा रहँदै समूह चरणबाट बाहिरिएको छ ।
 
पहिलो खेलमा बेल्जियमसँग ३-० ले पराजित भएको रुसले दोस्रो खेलमा फिनल्याण्डलाई १-० ले हराएको थियो ।