लिवियाबाट इटली जाँदै डुंगा डुब्दा ४३ प्रवासीको मृत्यु

आषाढ २०,२०७८

-आस्था न्यूज

असार २०, २०७८ काठमाडौं ।
लिवियाबाट इटली जाँदै गरेको एक डुंगा ट्युनिशिया नजिक भूमध्य सागरमा डुब्दा ४३ जना प्रवासीहरुको मृत्यु भएको छ ।
 
ट्युनिशियाको रेड क्रिसेन्टले ४३ प्रवासीहरुको मृत्यु भएको र ८४ जनालाई उद्धार गरेको पुष्टि गरेको बीबीसीले जनाएको छ ।
 
सो डुंगामा इजिप्ट, सुडान र बंगलादेशका नागरिक चढेका थिए ।
 
लिबियाको उत्तर पश्चिमी तट जुवाराबाट छुटेको सो डुंगा इन्जिनमा खराबीका कारण भूमध्य सागरमा डुबेको अधिकारीहरुले बताएका छन् ।
 
भूमध्य सागर युरोप र अफ्रिकाको बीचमा अवस्थित छ । अफ्रिका र मध्यपूर्वका धेरै नागरिकहरु गरिबी र युद्धका कारण त्यहाँबाट भागेर भूमध्य सागर पार गर्दै युरोपेली देश पुग्ने गरेका छन् । विगत केही वर्षयता यो बाटो प्रयोग गर्ने क्रम घटेको थियो । तर सन् २०२१ को सुरुवातदेखि फेरि यो बाटोमा चहल पहल बढेको छ ।
 
इटलीको गृह मन्त्रालयका अनुसार गत वर्षको जुलाई महिनासम्ममा ६ हजार सात सय जना भूमध्य सागर पार गर्दै इटली आएका थिए । तर सन् २०२१ मा यो संख्या १९ हजार ८ सय पुगिसकेको छ ।
 
सन् २०१६ को जुन महिनामा भूमध्य सागरमा एक डुंगा डुब्दा ११७ जनाको मृत्यु भएको थियो भने ३४० जनाको उद्धार गरिएको थियो ।