कोरोना विरुद्धको खोप वितरणमा समान व्यवहार अपनाउनुपर्नेमा बान कि मुनको जोड

आषाढ २१,२०७८

-आस्था न्यूज

असार २१,२०७८ काठमाडौं ।
संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताएका छन् । 
 
उनले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकोले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिएका छन् ।
 
उनले अहिले यो खोपको उत्पादन र वितरणका क्षेत्रमा काम गरिरहेका देशहरुले अहिलेको प्रयासलाई थप दोब्बर बनाउनुपर्नेमा जोड दिएका हुन् । 
 
एक भिडियो कन्फ्रेन्समा बोल्दै उनले भने–यो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउनुपर्छ र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोपको उपलब्धता हुनु जरुरी छ । 
 
उनले अहिले जलवायु परिवर्तनको चपेटामा पनि मानिसहरु परिरहेका प्रसंग उल्लेख गर्दै जलवायु परिवर्तनले मानिसहरुको विस्तारै अर्थात नजानिँदो रुपले ज्यान लिइरहेको छ र यो कोरोना भाइरसले चाँडो चाँडो ज्यान लिएको बताए ।
 
यी दुवै समस्याका विरुद्धमा विश्व एक भएर लड्नुपर्नेमा पनि उनले सो कन्फ्रेन्समा जोड दिएका थिए ।-एएफपी