कोरोनाको मारमा परेका उद्योग व्यवसायलाई साउनबाटै राहत दिने तयारी

आषाढ २१,२०७८

-आस्था न्यूज

असार २१, २०७८ काठमाडौं ।
सरकारले कोरोनाको मारमा परेका उद्योग व्यवसायलाई पुनर्जीवन दिन साउनबाटै राहत तथा सहुलियत दिने तयारी गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेख भएको राहत तथा सहुलियत साउन लाग्ने वित्तिकै दिने गरी आफूहरूले तयारी गरिरहेको बताएका छन् । 
 
चालू आर्थिक वर्षको असार मसान्तसम्म सबै काम सकेर नयाँ आर्थिक वर्ष लाग्ने वित्तिकै अर्थतन्त्र पुनरुत्थानका कार्यक्रम प्रिचालन गरिने मन्त्री पौडेलले बताए । 
 
कोरोनाका कारण कैयौँ उद्योगधन्दा धराशायी अवस्थामा पुगेको उद्योगी व्यवसायीले गुनासो गर्दै आएका छन् । केही दिनअघि मात्र राष्ट्रिय व्यवसायी महासङ्घले साना तथा मझौला ४० प्रतिशत उद्योग बन्द भएको जनाएको थियो । गत वर्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको अध्ययनमा पनि कोभिडको मारमा सबैभन्दा बढी साना तथा मझौला उद्योग परेका उल्लेख छ । 
 
अध्ययनका अनुसार अघिल्ला वर्ष पूर्णरूपमा बन्द भएका उद्योगमा लघु तथा घरेलु उद्योगको सङ्ख्या ८५ प्रतिशत रहेको थियो भने ८८ प्रतिशत लघु तथा घरेलु उद्योगले आफ्नो उत्पादनको बजारीकरण गर्न सकेका थिएनन् । ७५ प्रतिशत साना उद्योगले कच्चा पदार्थ पाउन नसकेको अध्ययनले देखाएको थियो । तर फेरि दोस्रो चरणको निषेधाज्ञाले त्यस्ता उद्योग व्यवसायलाई झन् जटिलता थपेको छ । 
 
लामो समय व्यवसाय बन्द भएकाले निषेधाज्ञा अवधिको भाडा छुट दिन व्यवसायीले माग गरेका छन् । कोभिडको मारमा परी सञ्चालनमा आउन नसकेका व्यवसायीलाई सरकारले पहिचान गरेर बिजुलीमा छुट, कर मिनाहा, सहुलियतपूर्ण कर्जा उपलब्ध गराइदिनुपर्ने व्यवसायीको माग छ ।