स्पेनलाई टाइब्रेकरमा हराएर इटाली युरो २०२० को फाइनलमा प्रवेश

आषाढ २३,२०७८

-आस्था न्यूज

असार २३,२०७८ काठमाडौं ।
इटालीले स्पेनलाई टाइब्रेकरमा ४-२ ले हराउँदै मंगलबार युरो -२०२० को फाइनलमा प्रवेश गरेको छ । लन्डनस्थित वेम्बली रंगशालामा भएको सेमिफाइनलमा स्पेनका लागि अल्भारो मोरोटा पेनाल्टीमा गोल गर्न चुकेलगत्तै जोर्जिन्होले इटालीका लागि निर्णायक गोल गरेका थिए ।
 
अब आइतबार वेम्बलीमै हुने उपाधिको भिडन्तमा इटालीले इंग्ल्यान्ड अथवा डेनमार्कको सामना गर्नेछ । दोस्रो सेमिफाइनल बुधबार हुँदैछ । पछिल्ला ३३ खेलमा अपराजित इटालीले फेडरिको चिसाको गोलले ६० औं मिनेटमा अग्रता लिएको थियो ।
 
खेल सकिन १० मिनेट अगाडि सब्स्टिच्युटका रुपमा आएका मोराटाले बराबरी गोल गरे । ९० मिनेटमा बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । त्यसमा पनि गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।