सेयर बजारमा हरियाली, आइतबार ७३.३३ अंकको बृद्धि

आषाढ २७,२०७८

-आस्था न्यूज

असार २७,२०७८ काठमाडौं ।
लामो समयको मौनता तोड्दै आइतबार नेप्से परिसूचकमा एकैदिन अधिकतम ७३.३३ अंकको बृद्धि आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक अधिकतम ७३.३३ अंकले बढेर २ हजार ८९८.४३ बिन्दुमा पुगेको हो । 
 
गत साताको अन्तिम कारोबार दिन (बिहीबार) नेप्से परिसूचक अधिकतम २३.७६ अंकले बढेर २ हजार ८२४.८९ विन्दुमा उक्लिएको थियो ।  त्यसो त आज ठूला ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १३.५१ अंकले बढेर ५४३.१६ बिन्दुमा उक्लिएको नेप्सेले जनाएको छ ।
 
यसदिन सबै समूहहरु धनात्मक ९पोजेटिभ० हुँदा सेयर बजारमा हरियाली छाएको छ । यद्यपि, गत हप्ताको तुलनामा आइतबार अधिकतम ७३.३३ अंकले नेप्से बढे पनि कारोबार रकम भने जम्मा ८ अर्ब रुपैयाँ हारहारीमा मात्र भएको छ । 
 
नेप्सेका अनुसार आज कुल २२५ कम्पनीका ३ करोड १५ लाख माथिको सेयर ८२ हजार ४९ पटक किनबेच हुँदा जम्मा ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६ रुपैयाँको मात्र कारोबार भएको छ । 
 
यसदिन तीन फाइनान्स कम्पनी श्री इन्भेष्टमेन्ट फाइनान्स, गोर्खाज फाइनान्स र आइसीएफसी फाइनान्सका सेयर धनीहरुले अधिकतम १० प्रतिशतले कमाइरहँदा यता राष्ट्रिय बीमा कम्पनी लिमिटेडका सेयर धनीहरुले अधिकतम ४।३७ प्रतिशतले गुमाउन पुगेका छन् ।