अन्तराष्ट्रिय प्रसङ्ग
भाद्र १५,२०७४
-एजेन्सी
१५ भाद्र/ प्योङयाङ-
उत्तर कोरियाले मंगलबार बिहान जापानी भूभागमाथिबाट परीक्षण गरिएको मिसाइल प्रशान्त क्षेत्रमा गर्ने भनिएको सैन्य अपरेसनको पहिलो कदम भएको बताएको छ । उसले यससँगै प्रशान्त क्षेत्रमा आफ्ना थप मिसाइल परीक्षणको संकेतसमेत गरेको छ ।
उत्तर कोरियाली सञ्चारमाध्यमले प्रशान्त क्षेत्रमा रहेको अमेरिकी टापु गुआममाथिको आक्रमणको चेतावनीलाई दोहो¥याएका छन् । यसअघि उत्तर कोरियाले अगस्टको पहिलो सातामै गुआममाथि हमला गर्ने तयारी रहेको बताएपछि अमेरिका र उत्तर कोरियाबीच तनाव बढेको थियो । यद्यपि उत्तरले अमेरिकी गतिविधिलाई हेरेर मात्रै गुआमबारे निर्णयमा पुग्ने जनाएको थियो ।
मंगलबार उत्तर कोरियाले जापानको उत्तरी क्षेत्र होक्काइदो टापुमाथिबाट शक्तिशाली ब्यालिस्टिक मिसाइल समुद्रमा खसाएपछि पुनः उत्तर कोरिया र जापानबीच तनावको अवस्था देखिएको छ । उत्तर कोरियाको यो मिसाइल परीक्षणपछि सो क्षेत्रमा सर्वसाधारणलाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको थियो ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि सर्वसम्मतिले प्रतिबन्ध लगाएपछि उसले त्यसको कडा विरोध गर्दै यसमा अमेरिकाको हात रहेकोले गुआममाथि हमला गर्ने बताउँदै आएको थियो । मंगलबार न्युयोर्कमा बसेको राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकमा सर्वसम्मतिले उत्तर कोरियाको पछिल्लो कदमको विरोध गरिएको छ । परिषद्ले उत्तर कोरियालाई आफ्नो परमाणु कार्यक्रम रद्द गर्न समेत आग्रह गरेको छ ।
सुरक्षा परिषद्ले उत्तर कोरियाले लगातार परीक्षण गरिरहेको मिसाइल राष्ट्रसंघका सबै राष्ट्रका लागि समेत खतरा रहेको बताएको छ । यद्यपि उत्तर कोरियामाथि थप प्रतिबन्धबारे भने कुनै निर्णय भएन । उत्तर कोरियाले केही समयअघि अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण गरेपछि कडा प्रतिबन्ध लगाइएको थियो ।
सुरक्षा परिषद्को बैठकमा रसिया र चीनले भने कोरियाली प्रायद्वीपमा तनाव बढ्नुमा अमेरिकाको उत्तेजक सैन्य गतिविधि र दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास जिम्मेवार रहेको भन्दै कडा आलोचना गरेका छन् । उनीहरूले दक्षिण कोरियामा रहेको थाडलगायतका परमाणुप्रतिरोधी यन्त्रहरू हटाउन तथा संयुक्त सैन्य अभ्यासजस्ता कार्यलाई निरन्तरता नदिनसमेत आग्रह गरेका छन् । यी दुवै राष्ट्रले यसअघिदेखि नै दक्षिण कोरियामा रहेको थाड एन्टी मिसाइल सिस्टम हटाउन आग्रह गर्दै आएका थिए । जापान भ्रमणमा आएकी बेलायती प्रधानमन्त्री थेरेसा मेले चीनलाई उत्तर कोरियालाई परमाणु कार्यक्रमलाई निरन्तरता नदिन दबाब दिन तथा प्योङयाङलाई उत्तरदायी बनाउन आग्रह गरेकी छन् ।
संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को कडा प्रतिबन्ध र आग्रहका बाबजुद उत्तर कोरियाले पछिल्लो समयमा आफ्नो परमाणु कार्यक्रमलाई तीव्र बनाएको छ । उत्तर कोरियाले मंगलबार प्योङयाङ नजिकैबाट ह्वासोङ–१२ नाम मिसाइल परीक्षण गरेको बताइएको छ । यसले २ हजार ७ सय किलोमिटरको दुरी तय गरी जापानदेखि १ हजार १ सय ८० किलोमिटर नजिकै समुद्रमा खसेको थियो ।
उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसीएनएले पहिलोपटक जापानी भूभागमाथिबाट गरिएको यो मिसाइलबारे आधिकारिक धारणा सार्वजनिक गरेको हो । यो परीक्षणलाई अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासको सिधा विरोध र सन् १९१० मा जापानले कोरियाली प्रायद्वीपमाथि कब्जा जमाएको बार्षिकीलाई लक्षित गरी गरिएको परीक्षणका रूपमा लिइएको छ ।
केसीएनएले नेता किम जोङ उनलाई उद्धृत गर्दै वास्तविक युद्धजस्तो तर प्रशान्त क्षेत्रमा गरिने भनिएको कारबाहीको पहिलो कदमका रूपमा यो परीक्षण भएको बताएको छ । केसीएनएले किमले सो क्षेत्रमा अरू धेरै मिसाइल परीक्षण गर्न निर्देशन दिएको उल्लेख गरेको छ । उत्तर कोरियाको यो कदमलाई अमेरिकी द्वीप गुआममाथिको सम्भावित हमलाको संकेतका रूपमा
लिइएको छ । गुआम अमेरिकाको मुख्य सैन्य अखडा रहेको द्वीप हो । यहाँ १ लाख ६३ हजार अमेरिकी जनसंख्या रहेको छ । सो द्विपमा अमेरिकाका करिब ७ हजार सैनिक रहेका छन् ।
प्रमुख समाचार
सम्वन्धित समाचार