देशको काँचुली फेर्न नेतृत्वमा पुगेका ओली सरकारको तितो बहिर्गमन

आषाढ २९,२०७८

लिला बल्लभ नेपाल

-लिला बल्लभ नेपाल

असार २९,२०७८ काठमाडौं ।
 
  •        लिला बल्लभ नेपाल, बिराटनगर
 
२०७४ साल मंसिरको आम निर्वाचन मार्फत उदयमान भएका ओलीको राष्ट्रबाद देखेर सबै नेपालीको मुहारमा खुशी छाएको थियो । अब पक्कै पनि देशले काँचुली फेर्ने छ र देशले समृद्धिको यात्रा समाउने छ । केपी ओलीलाई राजनेताको रुपमा प्राप्त गर्न सबै नेपाली एक ढिक्का भई समर्पित भएका थिए । आम निर्बाचन मार्फत सबै नेपालीको संयुक्त पहलमा नेपाल र नेपालीको मुहारमा खुशी आउने विश्वासमा झण्डै दुई तिहाइ सहितको बहुमतको सरकार गठन गर्न ओली सम्बद्ध पार्टीलाई जननिर्देश प्राप्त भई रहँदा अब नेपालीका दुःखका दिन गए, देशले राज नेता प्राप्त गरिसकेको छ, कसैले अव नेपाल र नेपालीको कमजोरीमा खेल्न पाउँने छैन । 
 
देशमा सुशासन कायम हुनेछ, उत्तर दक्षिणका खेलहरु निस्तेज भएर जानेछन, पूर्ब पश्चिम रेल संचालन हुनेछ, जनताको घर घरमा ग्यासको पाइप जडान हुनेछ, नेपालीहरु सुती सुती खाने दिन आउने छन् जस्ता सपनाहरु नेपालीहरुले देख्न थालिसकेका थिए । तर भाग्य फुटेको हो वा विधाताको खेल नेपालीहरुको अपुरो र अधुरो सपना तब चकनाचुर भयो जब ओली सरकारले झण्डै दुई तिहाइ सहितको जनमतलाई बेवास्ता गर्दै संसदै भंग गरिदियो । के चुनाबका बेलामा ओलीले नेपाली जनतालाई देखाएको सपना सबै झुटो थियो रु राष्ट्रबादको बिल्ला लगाएर जनताको मनोभावना सँग ओली सरकारले खेलेकै हो या देशी विदेशी शक्तिले उनलाई नेपाली जनता सँग खाएका वाचा पुरा गर्न नदिएको हो, यत्र तत्र सर्बत्र चर्चाको बिषय बनेको छ ।
 
ओलीको अबको कार्यदिशा के हो वा उनी देशलाई कता धकेल्न चाहान्थे र नेपाली जनतालाई ओली सरकारले कस्तो सपना बाँढ्न चाहान्थ्यो, यो बिषय नेपाली जनमानसमा चासो तथा सरोकारको बिषय बनेको छ । 
 
कोरोना महामारी र ओली सरकार
 
देशको सम्पूर्ण शक्ति एकत्रित गर्दै कोरोना संक्रमण संग लड्दै रोग, भोक र शोकबाट जनतालाई बचाउने, चुनाबताका देखाएका सपनाहरु पुरा गर्न लागि पर्दै समग्र अर्थतन्त्रको विकास गर्नु, राष्ट्रिय एकता दरिलो बनाउँदै भौगोलिक अखण्डता कायम गर्ने, राष्ट्रियता प्रति आफ्नो चट्टानी अडानलाई सबल बनाउँदै कुटनैतिक माध्यमबाट छिमेकी मुलुकहरुसँग सन्तुलित सम्बन्ध स्थापित गर्नु ओली सरकार सामु खडा भएका महत्वपूर्ण नैतिक जिम्मेवारी थिए ।
 
कोरोना महामारीले थलिएको अर्थतन्त्रको शिकार बनेका नेपाली जनताहरुले शोक र भोकले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता नआवस्, महामारीमा आफन्त गुमाएको पीडामा कसैले आएर मल्हम पट्टी लगाइदेवस् भन्ने भित्री चाहना को सँग हुँदैन होला र ? रोहिरहेका जनताहरुको आँखाको आशु पुछ्नुको सट्टा संसद भंग गरेर तिनै जनता सँग भोट माग्न आउनु नेपाली जनताको हीतमा होला र रु अव त नेपाली जनताका दुःखका दिन गए, महामारी आए पनि देशमा ओली सरकार छ, पक्कै पनि नेपाली जनतालाई राहत हुनेछ, जुन जोगी आए पनि कानै चिरेकोू, यहि हो नेपाली  जनताको नियति ? यो समय ओली सरकारको अग्नी परीक्षाको समय थियो, छोटो समयमा यो सरकारले आफुलाई अब्बल देखाउनु पर्ने थियो ।
 
राष्ट्रबादको अस्त्र मात्र होइन सुशासनको कार्यान्वयनलाई फितलो समेत हुन दिनु हुँदैन थियो जुन अस्त्र चुनाबी मैदानको राम बाँण बन्न सक्थ्यो । आज यो विदाइमा धन्यवाद बाहेक केही पनि छैन दिनलाई नेपाली जनताको हातमा हाम्रा महामहिम प्रधानमन्त्रीज्यूलाई ।  
 
ओली सरकारका सकारात्मक प्रयास
1 म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न अभियानको शुरुवात स्वागत योग्य छ,
2 उत्तरतर्फको रेलमार्ग निर्माणलाई सहज तुल्याउन टोखा–छहरे र बेत्रावती–स्याफ्रुबेसी सुरुङ मार्ग प्राथमिकतामा राखिएको छ,
3 केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग, रक्सौल–काठमाडौं र पूर्व–पश्चिम विद्युतीय रेलमार्ग सरकारका ‘ड्रिम प्रोजेक्ट निर्माण प्रकृया संचालनमा आएको छ,
4 ७४५ स्थानीय तहमा बाणिज्य बैकका शाखाहरु स्थापना भएका छन्,
5 शिक्षित बेरोजगारहरुलाई सीप र उद्यमशीलता सहितको उच्चस्तरको रोजगारीमा ल्याउने कार्यको शुरुवात भएको छ,
6 करको दर होइन, करको दायरा बढाउने अभियानको शुरुवात गरिएको छ,
7 कोलकातामा नेपालले आफ्नै कन्टेनर स्टेशन निर्माण गरी संचालनमा ल्याएको छ,
8 लार्चाको सुख्खा बन्दरगाह संचालनमा आई भूकम्पपछि बन्द रहेको तातोपानी नाकाबाट व्यापारिक वस्तुको आयात निर्यात हुन थालेको छ,
9 अण्डा तथा माछामासुको उत्पादनमा मुलुक आत्मनिर्भर बन्दै गएको छ,
10 ओली सरकार गठन भए यता कूल ३ हजार ६ सय ३६ किलोमिटर सडक कालोपत्रे भएको छ, 
11 सबै जिल्लाहरु तुइनमुक्त बनाउने अभियान शुरुवात भएको छ,
12 राष्ट्रिय परिचयपत्र, नागरिक अधिकार एप, अनुगमन पोर्टल र नेपालीपोर्ट नामक सफ्टवेयर लगायत दर्जनभन्दा बढी डिजिटल प्लेटफर्महरुको शुरुवात भएको छ, 
13 सरकारको कामलाई प्रभावकारी रुपमा अनुगमन गर्न प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमको स्थापना गरी संचालनमा ल्याईएको छ ,
14 प्रधानमन्त्रीसँग मन्त्रीहरुले, मन्त्रीहरुसँग सम्बन्धित सचिवहरुले र सचिवहरुसँग मातहतका अधिकारीहरुले कार्यसम्पादन सम्झौता गर्ने प्रचलनको शुरुवात गरिएको छ ,
15 थानकोट–चित्लाङ, खुर्कोट–चियाबारी र फेदीखोला–नयाँपुलमा सुरुङ मार्गको अध्ययन सुरु भएको छ ,
16 पूर्व–पश्चिम राजमार्गलाई एसियाली राजमार्गको स्तरमा ४ देखि ६ लेनमा स्तरोन्नति गर्ने कार्य अघि बढेको छ,
17 उत्तर–दक्षिण जोड्ने विभिन्न कोरिडर निर्माणको लागि स्रोत सुनिश्चित गर्ने कार्यसमेत अघि बढाइएको छ,
18 प्रदेश नं। २ मा समृद्ध बनाउन सुनकोशी–मरिन डाइभर्सन परियोजना तथा निजगढ विमानस्थल निर्माणको निर्माण कार्य प्राथमिकताका साथ संचालन भएको छ, 
19 भारतको आन्तरिक जलमार्गको प्रयोग गरी समुन्द्रसम्म पुग्न, नेपालको आफ्नै राष्ट्रिय ध्वजाबाहक पानीजहाज संचालन गर्नेगरी भारतसँग सहमति गर्नुका साथ नारायणी नदीमा क्रूज संचालनको सफल परीक्षण समेत सम्पन्न गरिएको छ, 
20. प्रतिदिन करिव ८ सय टन फलाम उत्पादन हुन सक्ने गरी नवलपुरको धौवादीमा फलाम उत्खनन गर्न धौवादी फलाम कम्पनी लिमिटेड स्थापना गरिएको छ, 
21 दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण कार्य सुरु भएको छ ,
22. १३ औं सागमा ५१ वटा स्वर्ण पदक सहित २ सय ७ वटा पदक हाँसिल गर्दै नेपालले खेलकुद क्षेत्रमा छलाङ मार्न सफल भएको छ, 
23. अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारको भूमिका, पहिचान, परिचय र प्रभाव विस्तार गर्न अन्तर्राष्ट्रिय सम्बन्ध लगभग १७० देशसँग स्थापित भएको छ, 
24. चीनका राष्ट्रपतिको २३ वर्षपछि नेपालको भ्रमण सफलता पूर्बक सम्पन्न भएको छ,
25. क्लाइमेट चेन्ज, माउण्टेन एण्ड फ्यूचर अफ ह्यूमानिटी विषयमा सगरमाथा संवाद कार्यक्रम संचालन गरिएको छ । 
 
ओली सरकारले समाधान गर्न नसकेका क्षेत्रः
१.आफ्नै पार्टी भित्र शक्ति सन्तुलन कायम गर्न नसक्नु
 
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी भित्र नेताहरु वीच जिम्मेवारी बाँडफाँड तथा उचित व्यवसथापन हुन नसक्दा असन्तुष्टि चुलिंदै गयो र संसद बिघटनका साथै पार्टी एकता भाँडियो जुन ओली सरकारको ठुलो कमजोरी हो । 
 
२. विदेश नीति सन्तुलित बन्न सकेन
सन्तुलित विदेश नीति स्थापित गर्न नसक्दा नेपाल कहिले भारतको खेल मैदान बन्यो, कहिले चिनको खेल मैदान बन्यो, कहिले अमेरिकाले नेपालको कमजोरी सँग खेल्न खोज्यो त कहिले युरोपेली राष्ट्रहरुले नेपाललाई खेल मैदान ठाने । त्यसैले बिदेश नीति सन्तुलित बनाउन नसक्नु ओली सरकारको महत्वपूर्ण कमजोरी हो ।
 
३. देशमा स्थायी शान्ति कायम गर्न नसक्नु
संक्रमणकालिन घटनासँग सम्वन्धित मुद्धालाई सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिपन आयोगको माध्यमवाट उचित न्यायिक निरुपण गर्दै समाजमा स्थायी शान्ति कायम गर्ने कदम चाल्न नसक्दा असन्तुष्ट पक्षहरु समाजमा हावी भएको देखियो जसको कारण समाजमा स्थायी शान्ति कायम हुन सकेन, जुन ओली सरकार असफलताको कारण बन्यो ।
 
५.सुशासन कायम, भ्रष्टाचार नियन्त्रण तथा दण्डहिनता मौलाउनु
 
ओली सरकारले भ्रष्टाचारिको अनुहार पनि हेर्दिन भनिरहँदा उनकै क्याबिनेट मन्त्रिहरु भ्रष्टाचार सम्वन्धी विवादमा पर्नु, कोरोना महामारीमा समेत भ्रष्टाचारजन्य कृयाकलाप मौलाएको देखिनु, दण्दहिनता दिनदिनै मौलाउँदै जानु, अपराधीहरुलाई कारवाही गर्नुको सट्टा राजनीतिक संरक्षण गर्नु, निर्मला हत्या प्रकरण जस्ता प्रतिनिधिमूलक घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन नसक्नु, समाजमा विवादित व्यक्तिहरुलाई सार्बजनिक पदमा नियुक्ति दिनु, स्वास्थ्य सामाग्री खरिद विवाद प्रकरण लगायतका काण्डहरुलाई कारवाहीको दायरामा ल्याउनुको सट्टा उल्टै राजनीतिक संरक्षण गर्ने जस्ता कृयाकलापबाट ओली सरकार दिन दिनै कमजोर बन्दै गयो । 
 
६. कमजोर संसदीय अभ्यास
नेपालको संविधानले संसदीय प्रणालीलाई अवलम्बन गरेको परीपेक्षमा संसदीय विधि प्रकृयाबाट शासन संचालन गर्नु पर्नेमा संसद अधिबेशन अन्त्य गरी अध्यादेशको माध्यमबाटै महत्वपूर्ण निर्णयहरु गर्दै शासन संचालन गर्ने प्रकृया अबलम्बन गर्नुले सरकार संसदीय प्रकृयाबाट भाग्न खोजेको हो की भन्ने आशंका पैदा गर्‍यो जसको कारण समाजमा सरकारको छबी धमिलिदै गयो र झण्डै दुई तिहाई सहितको सरकारको धरातल कमजोर बन्न पुग्यो ।
 
ओली सरकारले गर्न नसकेका कार्यहरुः
1. भ्रष्टाचारजन्य कृयाकलाप तथा आपराधिक कृयाकलापमा संलग्न रहेको आरोप लागेका र कानूनले सजाय तोकेका व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउन सकेनन् ओलीले ।
2. सार्बजनिक रुपमा पटक पटक खाएका सयौं बाचाहरुरकसमहरु मध्ये १र२ वटा भए पनि पुरा गर्न तिर पनि लाग्न सकेन ओली सरकार ।
3. गरिबिको रेखा मुनी रहेको जनसंख्या निकै ठुलो छ नेपालमा, त्यसैले गरिबलाई पुरा गर्न नसकिने आश्वासन दिदैमा व्यस्त भयो ओली सरकार । 
4. संसद बिघटन गर्नु पर्ने कारण र यसबाट जनतालाई प्रत्यक्ष लाभ पुग्ने आधारहरु तथ्य र तथ्यांकमा कहिल्यै बोल्न सकेन ओली सरकार ।
5. स्थानीय तह, प्रदेश तथा संघमा भएका बिक्रितिहरुको भण्डाफोर गर्ने र आफ्नै मान्छेलाई कारवाही गर्नु पर्‍यो भने पनि छाती ठुलो परेर जनताको पक्षमा निर्णय गर्ने सोच समेत बनाउन सकेन ओली सरकारले ।
 
6. धेरै नेपाली जनताहरु महामारीमा शोक र भोकको पीडामा छन्, कम्तिमा पनि गरिबको भान्सामा चामल र दाउराको ब्यवस्था गर्ने अभियान चलाउनु पर्थ्यो, गरिब र निमुखाको पक्षमा बोल्ने आँट कहिल्यै गरेन ओली सरकारले ।  
7. कुर्सी र सत्तामा सधै लिप्त रह्यो, आफु जनताको सेबक भएको प्रमाणित गर्दा तिनै नेपाली जनताले कुर्सी जोगाइदिने छन् भन्ने कुराको सुइकोनै पाउन सकेन ओली सरकारले । 
8. राजनीतिक अठोट र इच्छा शक्तिलाई प्रदेश र स्थानीय तह हुँदै सुशासन, विकास र समृद्धि प्राप्त गर्ने दिशामा कहिल्यै केन्द्रीत हुन सकेन ओली सरकार । 
9. संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यबाट स्रोत, साधन र अवसरको अधिकतम परिचालन गर्दै समृद्धि तर्फ अघि बढ्ने आधारशिलाको खाका समेत तयार गर्न सकेन ओली सरकारले । 
10. आफ्नो काँधमा जनताले विश्वास साथ विशेष जिम्मेवारी सुम्पेका छन् भन्ने कुरा भुसुक्कै विर्षियो ओली सरकारले । 
11. रोजगारी तथा स्वरोजगारका अवशरको सिर्जना हुने गरी नीति तथा विकास कार्यक्रमको शुरुवात समेत गर्न सकेन ओली सरकारले । 
12. सहज, सुलभ, गुणस्तरीय, जीवन उपयोगी तथा समाज उपयोगी शिक्षा प्रणालीको विकास गर्दै सर्बसाधारण गरिब निमुखा जनतामा प्रत्यक्ष लाभ पुग्ने कुनै उल्लेखनीय काम देखिदैन ओली सरकारको । 
13. सबल लोकतान्त्रिक प्रणालीको अवलम्वन गर्दै उच्चस्तरको शान्ति र सुब्यवस्था, जवाफदेहिता, कानूनको शासन तथा नागरिकका हक अधिकारको पूर्ण उपभोगको सुनिश्चित गर्न नागरिकमा परिवर्तनको महशुष हुने गरी शासकीय सुधारलाई सबल बनाउने प्रयास कहिल्यै गरेन ओली सरकारले । 
 
15. समृद्ध नेपाल सुखी नेपालीको नाराप्रति अक्षरसः प्रतिबद्ध भएको कुरा जनता समक्ष प्रमाणित गरेर देखाउन सकेको भए नेपालको ईतिहासका पानामा ओली सरकारको  नाम स्वर्णिम अक्षरले लेखिने थियो, यस्तो ठुलो ऐतिहासिक अवशर गुमायो ओली सरकारले । 
 
अन्तमा,
निष्ठापूर्वक आफ्नो काममा कटिबद्ध, प्रतिबद्ध र दृढ भई जनतासामू गरिएका कबुलहरु पूरा गर्न र नेपाली जनताले गरेको विश्वास अक्षुर्ण राख्न सधै अग्रसर रहने बाचा कसम खाई जनताको नासोको रुपमा प्राप्त गरेको सार्बभौम संसदलाई सानो तिनो घर झगडाकै आधारमा सत्ता र कुर्सीकै लागि बिघटन गर्ने प्रयाज सर्बोच्च अदालतले दोस्रो पटक बदर गरिदिए सँग झण्डै चार बर्ष देखि नेपालको शासन सत्ता संचालन गरिरहेको ओली सरकार बहिर्गमनको बाटोमा पुगेको छ । जनताको नासो दोबाटोमा लथालिंग अवस्थामा छोड्दै ओली सरकार बिदाइ हुँदै गर्दा आज हरेक नेपालीको वर्षौ देखिको घाउँ झन झन आलो हुँदै गएको महशुष भएको छ । कोरोना कहरको कारण हजारौं नेपालीहरु घरवार विहिन अवस्थामा छन्, झण्डै दुई तिहाइको समृद्धि साँचेको सरकारले त निमुखाको आँशु पुछ्न सकेन भने नेपाल र नेपाली जनताका आगामी दिनहरु झन दुःखद् होलान् या सुखद् यो त भविश्यले नै देखाउला, जय होस् ।