प्रचण्ड, नेपाल र विप्लवबीच भेटवार्ताः पछिल्लो राजनीतिक विषयमा गहन छलफल

आषाढ ३१,२०७८

-आस्था न्यूज

असार ३१,२०७८ काठमाडौं ।
 
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँगको भेटघाट बढाएका छन् ।
 
बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेका चन्दले बिहीबार नेकपा एमाले नेता माधवकुमार नेपाललाई भेटेका हुन् । नेपालको निवास कोटेश्वरमा चन्द र नेपालबीच भेटवार्ता चलिरहेकै बेला दाहाल पनि पुगेका थिए । 
 
त्यसपछि केहीबेर तीन नेताबीच छलफल भएको दाहालको सचिवालयले जनाएको छ । भेटवार्तामा तीन नेताबीच पछिल्लो समसामयिक राजनीतिक विषय सामान्य छलफल भएको थियो ।
 
साथै चन्द नेतृत्वको पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारसँग गरेको तीन बुँदे सहमतिका विषयमा पनि छलफल भएको छ । तीन बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएपनि चन्द नेतृत्वको पार्टीका माग पूरा भएका छैनन् । चन्दसँगै धर्मेन्द्र बाँस्तोला पनि नेपाल निवास पुगेका थिए ।