आर्थिक गतिविधि ठप्प हुदापनि घिउतेलमा ३१ प्रतिशतसम्म मूल्य वृद्धि

श्रावण ०१,२०७८

-आस्था न्यूज

साउन १,२०७८ काठमाडौं ।
कोरोना कारण अधिकांश आर्थिक गतिविधि ठप्प रहँदा पनि अर्थतन्त्रका लागि विप्रेषण निकै सहयोगी देखिएको छ । महामारीको अवस्थामा पनि नेपाल भित्रिने विपे्रषणमा कुनै कमी आएको छैन ।
 
नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७७/७८ को ११ महिनाको आर्थिक स्थितिसम्बन्धी प्रतिवेदनअनुसार गत जेठको तुलनामा १२।६ प्रतिशतले बढेर नेपाल भित्रने विपे्रषण आठ खर्ब ७० अर्ब ९४ करोड रुपियाँ पुगेको छ ।
 
मूल्यवृद्धि चर्को
घिउतेलको मूल्य ३१ प्रतिशतसम्म बढेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको जेठसम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार जेठमा घिउतेलको मूल्य ३०.९८ प्रतिशतले बढेको उल्लेख छ ।
कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाकै अवधिमा खासगरी खानेतेलको मूल्य अत्यधिक बढेको थियो । राष्ट्र बैङ्कले गत आर्थिक वर्ष २०७६/७७ को जेठको तुलनामा चालू आवको जेठसम्म खाद्य तथा पेय पदार्थको मूल्य ६.२२ प्रतिशतले बढेको जनाएको छ । यद्यपि गैरखाद्य तथा सेवा समूहको भने २.६६ प्रतिशतमा मूल्य वृद्धिदर रहेको प्रतिवेदनमा उल्लेख छ ।
 
घिउतेलबाहेक खाद्यतर्फ सुर्तीजन्य पदार्थको ९.८४, गैरमदिराजन्य पेय पदार्थको ९.८१ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । यातायात क्षेत्रको मूल्य वृद्धि भने ९.७० प्रतिशत रहेको छ । समग्रमा जेठमा उपभोक्ता मूल्य वृद्धि ४.१९ प्रतिशत रहेको देखाइएको छ । गत जेठमा यस्तो वृद्धिदर ४.५४ प्रतिशत थियो ।
 
क्षेत्रगत हिसाबले हिमालमा सबैभन्दा कम मूल्य वृद्धि भएको देखिएको छ । प्रतिवेदनअनुसार हिमालमा १.७२ प्रतिशत मात्र मूल्य वृद्धि हुँदा काठमाडौँ उपत्यकामा ३.८७, पहाडमा ४.३२ र तराईमा ४.४७ प्रतिशत मूल्य वृद्धि भएको छ । गोरखापत्रबाट