काठमाण्डौ-नयाँ दिल्लीमा अब हप्तामा ६ उडान हुने

श्रावण ०५,२०७८

-आस्था न्यूज

साउन ५,२०७८ काठमाडौं ।
नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप काठमाण्डौ-नयाँ दिल्ली गन्तव्यमा हप्तामा कुल ६ उडान हुने भएको छ । यसअघि नयाँ दिल्लीमा हप्ताको दुई उडान हुँदै आएकामा अब ६ उडान हुने भएको हो ।
 
सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम उडान सङ्ख्या बढेको र छिट्टै उडान तालिका बनाइने नेपाल वायुसेवा निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अब नयाँ दिल्लीमा काठमाण्डौबाट सोमवार, बुधवार र शनिवार निगमको जहाजले उडान भर्नेछ ।
 
यसअघि दुई उडान कायम रहेका बेला निगमले बुधवार र भारतको एयर इन्डियाले शुक्रवार उडान भर्ने गरेका थिए । अहिले दुवै एयरलाइन्सले समान तीन उडान पाएका हुन् । यात्रुको सहजतालाई ध्यानमा राखेर एयर इन्डियासँग समन्वय गरी उताको उडान हुने वार नजुध्ने गरी निगमले उडान तालिका बनाएको जनाइएको छ ।