माधव समूहले ओलीले सोधेको स्पष्टीकरणको जवाफ नदिने

श्रावण ०५,२०७८

-आस्था न्यूज

साउन ५,२०७८ काठमाडौं ।
एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ । सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
 
​एमालेको यो निर्णय लगत्तै सोमबार बेलुका माधव नेपालसहितका २२ सांसदहरुबीच स्पष्टीकरणको जवाफ दिने कि नदिने भन्ने विषयमा छलफल भएको थियो । उक्त छलफलले जवाफ दिन जरुरी नरहेको निष्कर्ष निकालेको सांसद मेटमणि चौधरीले जानकारी दिए ।
 
‘हामी स्पष्टीकरणको जवाफ नदिने निष्कर्षमा पुग्यौ । हामीले पार्टी मानेकै छैनौ, अनि उनीहरूले गरेको निर्णयको जवाफ दिने कुरै भएन’, चौधरीले भने, ‘स्पष्टीकरणको कुनै अर्थ पनि छैन । अर्थ हुनलाई एमाले हुनुपर्यो ।’
 
उनले पार्टी विवादपछि कोही एमाले नरहेको भन्दै दुवै पक्षले एकले अर्कोलाई मान्यता नदिएर समूह चलाइरहेको बताए ।
 
उनले एमाले हुनलाई २०७५ जेठ २ मा फर्कनुपर्ने भन्दै ओली नै जेठ २ मा नफर्किएकाले यस्तो अवस्था आएको बताए । ‘एमाले हुनलाई २०७५ जेठ २ मा फर्कनुपर्छ । त्यो ठाउँमा कोही नपुगेको अवस्थामा एउटा समूहले अर्को समूहलाई स्पष्टीकरण सोधेको कुनै अर्थ हुँदैन’, चौधरीको भनाइ छ ।