सुदूरपश्चिममा पनि कांग्रेस र जसपालाई सरकारमा ल्याउन परामर्श शुरु

श्रावण ०५,२०७८

-आस्था न्यूज

साउन ५,२०७८ काठमाडौं ।
सुदूरपश्चिम प्रदेशमा प्रतिपक्षी दलको भूमिकामा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई सरकारमा ल्याउन परामर्श शुरु भएको छ । केपी शर्मा ओली नेतृत्वको संघीय सरकारको बर्हिगमनपछि सुदूरपश्चिम प्रदेशमा समेत केन्द्रकै सत्ता गठनबन्धनलाई निरन्तरता दिने गरी दुवै पार्टीलाई सरकारमा ल्याउन नेताहरुले परामर्श थालेका हुन् ।
 
कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव समूह, जनता समाजवादी पार्टीको समर्थनमा शेरबहादुर देउवा प्रधानमन्त्री भएसँगै सुदूरपश्चिमका मुख्यमन्त्री, मन्त्री र पार्टीका अन्य नेता काठमाडौं आईपुगेका छन् ।
 
मुख्यमन्त्री त्रिलोचन भट्ट केही दिनदेखि काठमाडौंमै रहेका बेला मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी र सामाजिक विकास मन्त्री लालबहादुर खड्का पनि काठमाडौं पुगेका छन् । कृषि मन्त्री विनिता चौधरी पनि केही दिनदेखि काठमाडौंमै छिन् ।
 
उनीहरुसँगै केही सांसद पनि काठमाडौं पुगेका छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी बाहेक प्रदेशका सबै मन्त्री र नेपाली कांगेसका सांसदहरु काठमाडौं जानुलाई  अर्थपूर्ण रुपमा हेरिएको छ । 
 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले संघीय सरकारमा जस्तै प्रदेशमा पनि कांग्रेस, माओवादी र जसपाबीच सत्ता सहकार्य गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।