बाढीले मनाङको चामेमा झोलुंगे पुल बगायो

श्रावण ०६,२०७८

-आस्था न्यूज

साउन ६,२०७८ काठमाडौं ।
मनाङ सदरमुकाम चामेमा रहेको एकमात्र झोलुंगे पुल पनि बाढीले बगाएको छ । सँगै रहेको बेलिब्रिज बाढीले बगाएर ल्याएको ढुंगामुढाले पुरेको छ ।
 
चामेमा रहेको झोलुंगे पुल बगाएपछि माथिल्लो मनाङसँगको सम्पर्कविच्छेद भएको छ । चामे गाउँपालिका ५ का वडाअध्यक्ष कैले गुरुङका अनुसार मंगलबार राति आएको बाढीले वडा नं ४ चामेबजारदेखि वडा नं ५ को पारी चामे जोड्ने झोलुंगे पुल बगाएको छ । यो माथिल्लो मनाङ जाने चामेस्थित एकमात्र झोलुंगे पुल हो ।
 
नेपाल प्रहरीका डीएसपी सुवास खड्काका अनुसार बेलिब्रिजले बाढी रोकिदिएपछि बाढीले धार परिवर्तन गर्दा झोलुंगे पुललाई पनि बगाएको हो । 
 
सशस्त्र प्रहरी बल नं ३२ गुल्म, चामे मनाङका डीएसपी होमनाथ पन्थीका अनुसार यसअघि बेलिब्रिज जोगाउन खोज्दा सकिएन । अहिले झोलुंगे पुल जोगाउन खोज्दा पनि सकिएन । ‘हामीले बगाउन लागेको लट्ठा तान्ने प्रयास गर्‍यौं । बाढीका कारण सकिएको छैन,’ उनले भने ।