साउन लागेसँगै सेयर बजारमा सकारात्मक प्रभाव

श्रावण ०७,२०७८

-आस्था न्यूज

साउन ७,२०७८ काठमाडौं ।
साउन लागेसँगै बैंकिङ प्रणालीमा लगानी योग्य रकम सहज हुदै गएपछि सेयर बजारमा त्यसको सकारात्मक प्रभाव देखियो । यो साता सेयर बजारले ३ हजार विन्दुको मनोवैज्ञानिक अंक पार गर्न सफल पनि भयो । 
 
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ३००४.४१ विन्दुमा आइपुगेर बन्द भएको छ । यसअघि नेप्से सूचक जेठ ३१ गते ३०२५.८३ विन्दुसम्म पुगेको थियो । त्यसपछि बजार करेक्सनतर्फ लागेको थियो ।
 
साताको पहिलो दिन आइतबार नयाँ आर्थिक वर्षको पहिलो कारोबारमा नेप्से सूचक ९७.२१ अंकले वृद्धि भयो । आइतबार नेप्सेमा ११ अर्ब ६३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भयो जसले लगानीकर्ता आशा जगायो ।
 
त्यसअघि कारोबार रकम समेत न्यून हुदै आएको थियो । सोमबार पनि सेयर बजार बढ्ने क्रम जारी रह्यो । नेप्से सूचक १३.९७ अंकले बढेर २९९४.५८ विन्दुमा आइपुग्यो । 
 
यो दिन ११ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो । यस्तै साताको तेस्रो दिन मंगलबार भने सेयर बजारमा अस्थिर देखियो । बजारले निश्चित गति समाउन  नसक्दा सूचक छिनछिनमै तलमाथि हुन पुग्यो, र अन्तमा नेप्से सूचक ९.१ अंकले घटेर २९८५.५७ विन्दुमा अडियो । मंगलबार ७ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको थियो ।
 
यो साता बुधबार सार्वजनिक विदा परेकाले यस दिन सेयर कारोबार हुन पाएन । सामान्य अवस्थामा साताको पाँच दिन आइतबारदेखि बिहिबारसम्म  सेयर कारोबार हुने गरेको छ  ।