३२ औं टोकियो ओलम्पिकको उद्घाटन समारोह भव्य

श्रावण ०८,२०७८

-आस्था न्यूज

साउन ८,२०७८ काठमाडौं
विश्व खेलकुदकै महाकुम्भको रुपमा चर्चित ओलम्पिक गेम्सको ३२ औं संस्करणको उद्घाटन समारोह टोकियोस्थित ओलम्पिक रंगशालामा नेपाली समयअनुसार पौने ५ बजे सुरु भएको छ । आतिसबाजी र जापानी संस्कृति प्रदर्शनसँगै प्रविधिको प्रयोगबाट समारोहलाई भव्य बनाइएको छ ।
 
जापानको राष्ट्रिय गानसँगै सुरु भएको उद्घाटन समारोहमा जापानी सांस्कृतिक झाँकी र ओलम्पिकमा आवद्ध खेलसम्बन्धी कला प्रदर्शन गरेका छन् । ६८ हजार दर्शक क्षमताको रंगशालामा कोरोनाभाइरसको महामारीको कारण उद्घाटन समारोहमा करिब एक हजार भीआईपीको मात्रै उपस्थिति रहेको छ । यो ओलम्पिकमा २०४ देश र शरणार्थी टिमका ११ हजार बढी खेलाडी सहभागी छन् । सहभागी देशका खेलाडी र अफिसियलहरूको मार्चपास सुरु भइसकेको छ ।
 
जापानका सम्राट नारुहितो, प्रधानमन्त्री योसिहिदे सुगा, अमेरिकी प्रथम महिला जिल बाइडेन, अन्तराष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमस बाच तथा विभिन्न राष्ट्रका प्रमुखहरूको उपस्थिति रहेको छ । औपचारिक रुपमा ओलम्पिक सुरु हुँदै गर्दा टोकियोमा कोभिड १९ संक्रमितको संख्याले पनि दिनहुँ रेकर्ड बनाइरहेको छ । त्यसैले महामारीले तीव्र रुप लिनसक्ने भन्दै स्थानीयबासीले ओलम्पिक आयोजनाको विरोध जनाइरहेका छन् ।
 
मार्चपासमा नेपालको झण्डा पौडीका खेलाडीद्वय गौरिका सिंह र अलेक्जेन्डर शाहले बोक्दैछन् । जुडो र सुटिङको प्रतिस्पधर्पा शनिबार नै भएकोले यी दुईका खेलाडीद्वय सोनिया भट्ट र कल्पना परियार मार्चपासमा आएका छैनन् । यसपालि नेपालका ५ खेलाडीले चार खेलमा प्रतिस्पर्धा गर्दैछन् ।
 
नेपालले पहिलोपल्ट ओलम्पिकमा सन् १९६४ मा सहभागिता जनाएको थियो, जुन जापानी राजधानी टोकियोमै भएको थियो । गृष्मकालीन ओलम्पिक ५७ वर्षपछि टोकियो फर्किएको हो । कोरोना भाइरसको महामारीको कारण गत वर्ष सम्भव नभएपछि एक वर्ष ढिला आयोजना गरिएको हो । 
 
अगस्ट ८ सम्म सञ्चालन हुने ओलम्पिकमा ३३ खेल समावेश गरिएको छ । औपचारिक उद्घाटन शुक्रबार गरिएपनि विभिन्न खेलका प्रतिस्पर्धा दुई दिनअघि नै सुरु भइसकेको छ ।