भारतबाट ४२ अर्बको धान ,चामल र गेडागुडी आयात

श्रावण ०९,२०७८

-आस्था न्यूज

साउन ९, २०७८ काठमाडौं ।
गत आर्थिक वर्षमा वीरगञ्ज नाका भएर करिब ४२ अर्ब रुपियाँ बराबरको धान,चामल र गेडागुडी आयात भएको छ । गत आर्थिक वर्षमा वीरगञ्ज नाका भएर बिभिन्न मुलुकबाट ४१ अर्ब ९३ करोड रुपियाँको धान,चामल र गेडागुडी आयात भएको हो । वीरगञ्ज नाकामा रहेका वीरगञ्ज भन्सार र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको तथ्याङ्क अनुसार भारत तथा तेश्रो मुलुकबाट करिब ४२ अर्ब रुपियाँ बराबरको धान, चामल, गहुँ, मकै, भटमास, फापर, कोदो, चना, केराउ, बोडी र सिमीका गेडा लगायतका खाद्यान्न आयात भएको देखिन्छ ।
 
आर्थिक वर्ष २०७७/०७८ मा वीरगञ्ज भन्सार भएर १८ अर्ब १६ करोड ४८ लाख ३८ हजार रुपैयाँ र सिर्सिया सुख्खा बन्दरगाह भन्सार भएर २३ अर्ब ७६ करो रुपियाँको खाद्यान्न आयात भएको हो ।
 
आयात भएको खाद्यान्नमा सबैभन्दा बढी ३० लाख ३४ हजार ९६२ मेट्रिक टन धान आयात भएको देखिन्छ । ३० लाख ३४ हजार ९६२ मेट्रिक टन धान ८ अर्ब ८१ रुपैयाँमा खरिद गरी आयात भएको तथ्याङ्कले देखाएको छ ।
 
धान मात्र होईन आर्थिक वर्ष २०७७/०७८ मा वीरगञ्ज नाका भएर ५८ हजार ८९५ मेट्रिक टन चामल आयात भएको छ । त्यस्तैगरी वीरगञ्ज नाका भएर ६४ हजार ७ सय १० मेट्रिक टन गहुँ , एक लाख ४ हजार २ सय १५ मेट्रिक टन भटमास , ७ लाख ४ हजार ३ सय ८८ मेट्रिक टन मकै आयात भएको छ । 
 
त्यस्तैगरी ८० हजार १ सय ४७ मेट्रिक टन केराउ , ५३ हजार ७ सय ७२ मेट्रिक टन सिमी , ६२ हजार ७ सय ६ मेट्रिक टन चना , १३ हजार ५ सय ५६ मेट्रिक टन फापर र कोदो समेत वीरगञ्ज नाकाबाट भित्रिएको छ । गोरखापत्रबाट