नेप्से परिसूचक आइतबार उच्च अंकले वृद्धि

श्रावण १०,२०७८

-रासस

साउन १०,२०७८ काठमाडौं ।
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार उच्च अंकले वृद्धि भएको छ । गत साता सामान्य अंकले सुधार भएको बजारमा यस साताको पहिलो कारोबार दिन नै नेप्सेमा ५४.३१ विन्दुले उकालो लागेर तीन हजार ५८.६३ मा पुगेको छ ।
 
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.७४ विन्दुले बढेर ५७४.०२ मा पुगेको छ । नेप्सेमा उच्च अंकको वृद्धिसँगै कारोबार रकम पनि आज उल्लेख्य वृद्धि भएको छ । कुल २२३ कम्पनीको चार करोड ३९ लाख ३९ हजार २१२ कित्ता सेयर रु १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४७२ मूल्यमा खरिद बिक्री भए ।
 
कारोबार भएका कुल १३ उपसमूहमध्ये आज दुई उपसमूहको सेयर ओरालो लाग्दा ११ उपसमूहको सेयर उकालो लागेको छ । होटल तथा पर्यटन २२.५ र सामूहिक लगानी कोष ०.२४ विन्दुले घटेको छ ।
 
यस्तै, बैंकिङ ७२.१४, व्यापार २.७१, विकास बैंक १३, जलविद्युत् ७१.६, निर्जीवन बीमा ४८.४२, उत्पादन ७१.८६, अन्य ६.६, लघुवित्त ८६.२३, जीवन बीमा ३०.८६ र लगानी ०.०४ विन्दुले बढेको छ ।
 
कारोबारका आधारमा आज नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४९ करोड ७६ लाख ६५ हजार १८२ मूल्यमा खरिद बिक्री भए । यस्तै, ग्लोबल आइएमई बैंक रु ४९ करोड ४४ लाख ३९ हजार, एनसिसी बैंक रु ३४ करोड ७८ लाख ९८ हजार ५६८, अरुण काबेली पावर रु ३४ करोड दुई लाख ६५ हजार ५३७ र एनआईसी एसिया बैंक रु ३३ करोड ८० लाख ४५ हजार ३५१ बराबरको कारोबार भइ शीर्ष स्थानमा रहेको छ ।
 
नेप्सेका अनुसार विशाल बजार कम्पनी, ङादी ग्रुप अफ पावर, सर्पोट माइक्रोफाइनान्स राधी विद्युत् कम्पनी पञ्चकन्या माई हाइड्रोपावर, कालिका पावर कम्पनी, जोशी हाइड्रोपावर, युनिभर्सल पावर र हमालयन ऊर्जा विकास कम्पनीको सेयरमा १० प्रतिशतले वृद्धि भइ सकारात्मक सर्किट लागेको छ ।