माधव नेपाल जननेता हुनुभयो, प्रधानमन्त्री देउवाको हाईट बढ्यो : महेन्द्र यादव

श्रावण १८,२०७८

-आस्था न्यूज

साउन १८,२०७८ काठमाडौं ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महेन्द्र यादवले नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाललाई जननेताको संज्ञा दिएका छन् । 
 
नेता नेपालले पार्टीभन्दा माथि उठेर राजनीतिक व्यवस्था, संविधान, लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएको र सोहीअनुसार भूमिका खेलेको यादवको भनाई छ । 
 
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘माधव नेपालले पार्टीभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्नुभयो ।
 
संविधान, व्यवस्था र कानूनको रक्षाको लागि अडान लिनुभयो । अब उहाँलाई एमालेले कारबाही गरेर उहाँको हाईट घट्दैन्, बरु बढ्छ ।’ उनले माधव नेपाललाई गिरिजा प्रसाद कोइरालासँग तुलना गरे । 
 
उनले भने,‘जसरी गिरिजाबाबु सबैले भरोसा गर्न योग्य नेता हुनुहुन्थ्यो, अहिले माधव नेपालपनि त्यस्तै हुनुभएको छ।’
 
उनले माधव नेपाल समूहपनि ढिलो÷चाँडो सरकारमा सहभागी हुने विश्वास दिलाए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले जुनसुकै बेला पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्ने सुनाए । उनले भने,‘मन्त्रिपरिषद् विस्तार जतिबेला पनि हुनसक्छ ।
 
अब धेरै ढिलो हुँदैन् । प्रधानमन्त्रीज्यू गठबन्धनमा आवद्ध दललाई विश्वासमा लिएर अघि बढ्न चाहनुहुन्छ । यो सरकार संविधानको धारा ७६ को ५ अनुसार बनेको हो । त्यसैले उहाँ सबैलाई समेटेर अघि बढ्न चाहानुहुन्छ । राष्ट्रिय सरकार नै बनाउन चाहानुहुन्छ ।’ मन्त्रिपरिषद् विस्तारबारे अहिले गृहकार्य भैरहेको उनको भनाई छ ।
 
उनले भने,‘कांग्रेस अरु दललाई बिच्काउन चाहँदैन् । उहाँहरुलाई पूरै सन्तुष्ट गरेर नै अघि बढ्छौं । बरु, कांग्रेसले एक÷दुई वटा मन्त्रालय नै कम लिन्छ ।’
 
उनले कांग्रेसको क्रियाशिल सदस्यताको विवादपनि समाधानको चरणमा रहेको सुनाए । उनले यो हप्ताभित्रै विवाद समाधान हुने दाबी गरे । उनले महाधिवेशन भदौको अन्तिम साताबाट प्रारम्भ भएर मंसिर÷पुषसम्म सम्पन्न गरिसक्ने पनि सुनाए । उनले प्रधानन्त्री तथा पार्टी सभापति देउवाको पछिल्लो समय हाईट बढेको र विपीको स्थानमा पुग्नसक्ने पनि सुनाए ।
 
उनले भने,‘अहिले प्रधानमन्त्रीज्यूप्रति जनताको सम्मान बढेको छ । उहाँको हाईट धेरै बढेको छ । उहाँ सबैले भरोषा गर्न योग्य व्यक्ति हो ।’ 
 
उनले प्रधानमन्त्री देउवा बन्नेबित्तिकै गच्छदारलाई उन्मुक्ति दिईएको भन्ने हल्लामा कुनै सत्यता नभएको पनि स्पष्ट पारे । उनले भने,‘देउवाजी प्रधानमन्त्री हुनेबित्तिकै गच्छदारले उन्मुक्ति पाएको होईन ।
 
अदालतप्रति हामीले विश्वास गर्नुपर्छ ।’ उनले पार्टी सभापति देउवाले कहिल्यैपनि आलमलाई छुटाउने भनेर नभनेको पनि जिकिर गरे । उनले भने,‘भोलि आलम रिहा भए पनि यसलाई सरकारसँग जोडेर हेर्नुहुँदैन् । हामीले अदालतलाई विश्वास गर्नुपर्छ ।’
 
उनले पार्टीमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल अनुभवी र खारिएको नेता भएको पनि सुनाए । उनले आफूहरुलाई नेतृत्वमाथि पूर्ण विश्वास र भरोसा रहेको पनि सुनाए । उनले पार्टी सभापति देउवामा समन्वयकारी क्षमता भएको पनि सुनाए ।