टोकियो ओलम्पिकमा नकआउट चरणका खेल शुरू
-आस्था न्यूज
साउन १९,२०७८ काठमाडौं ।
टोकियो ओलम्पिकका धेरै खेल सकिँदै जाँदा केही खेलका महत्वपूर्ण स्पर्धा जारी छन् । मङ्गलबार एथ्लेटिक्सका तीन स्पर्धा हुनेछन् । पुरुषको प्यारलल बार र होरिजन्टेल बारका साथै महिलाको ब्यालेन्स बिमको स्पर्धा हुनेछ ।
एथ्लेटिक्स महिला लङजम्पको फाइनल हुनेछ । नाइजेरियाकी एज ब्रुम मुख्य दाबेदारको रूपमा प्रतियोगितामा सहभागी भएकी छिन् । जर्मनीका मिहाबाब मालिका, युक्रेनकी बेख मार्या रुमान्चुक र अमेरिकी ब्रेटनी रिपयर्स र डारा टाभेसका बीच उपाधि भिडन्त हुनेछ ।
पुरुषको ४ सय मिटर हर्डल्समा नर्वेका विश्व कीर्तिमानधारी काल्र्सटन होहरलम स्वर्ण पदकका प्रबल दाबेदारको रूपमा रहेका छन् । अमेरिकाका बेन्जमिन राई उपविजेता हुने आकलन धेरैको छ ।
महिला ह्यामर थ्रोमा अमेरिकी डियना प्रायस मुख्य दाबेदार मानिएकी छन् । साबिक विजेता तथा विश्व कीर्तिमानधारी पोल्यान्डकी वल्डरज्याक अर्की मुख्य प्रतिस्पर्धी हुन् ।
महिला ८ सय मिटरमा होडबाजी खुला रहेको छ । सुडानी आदिवासी बाबुआमाकी छोरी अमेरिकी धाविका सत्र वर्षीय एथन मुको प्रदर्शनमाथि धेरैको आँखा गडेको छ ।
महिला २ सय मिटर अमेरिकी गाब्रियल थोमस उपाधि दाबेदारको रूपमा प्रतियोगितामा सहभागी भए पनि आमैकाका सय मिटर च्याम्पियन एलन हेराथ थोम्सनको फर्म हेर्दा उनले उपाधि जित्ने सम्भावना प्रबल मानिन्छ ।
मङ्गलबार बक्सिङको महिला फाइनल भिडन्त हुनेछ । महिला फेदर वेटमा फिलिपिन्सका नेस्थी पेटेसियो र जापानका सेना आइरेका बिचमा खेल हुनेछ ।
क्यानोइमा महिला कायाकको सिङ्गल २ मिटर तथा पुरुष क्यानोइ डबल हजार मिटरको पदकको टुङ्गो लाग्नेछ । यसैगरी पुरुष कायम सिङ्गल हजार मिटरको पनि फाइनल हुनेछ । महिला कायम डबल ५ सय मिटरको पनि मङ्गलबार नै फाइनल हुने छ ।
साइक्लिङको टिम पर्सुटमा जर्मनीको भिडन्त चीनसँग हुने अनुमान गरिएको छ । पुरुष टिम स्प्रिन्टमा नेदरल्यान्डलाई बलियो दाबेदार मानिएको छ ।
सेलिङमा महिला स्कीफ, पुरुष स्किफ, मेन वान पर्सन र मिश्रित मुलथुलको फाइनल स्पर्धा हुनेछ । भारोत्तोलनमा पुरुष १०९ किलोको प्रतिस्पर्धा हुनेछ ।
कुस्तीमा पुरुष ग्रीको रोमन ७७ किलोमा हङ्गेरीका टमास लोरिन्ज र काजकिस्तानका अखमुख अजकोलको भिडन्त हुनेछ । पुरुष ग्रीको रोमन ७७ किलोमा रुस ओलम्पिक कमिटीका मुसा एभलोभ र अर्मेनियाका अर्तुर अलेक्सान्याकानको भिडन्त हुनेछ । महिला फ्रिस्टाइलको ६८ किलोमा अमेरिकाकी स्टक मेन्साइ र नाइजेरियाकी ओबुडु ब्लेसिगका बीच खेल हुनेछ ।
डाइभिङमा पुरुष ३ मिटर स्प्रिङ बोर्डको खेल हुनेछ ।
पुरुष बास्केटबलको क्वार्टर फाइनलमा स्लोभानिया र जर्मनी, स्पेन र अमेरिका, इटाली र फ्रान्स तथा अस्ट्रेलिया र अर्जेन्टिनाका बीचमा खेल हुनेछ ।
बिच भलिबलको महिला क्वार्टर फाइनलको खेल हुनेछ । जर्मनी र अमेरिकाको जोडी, ब्राजिल र स्विट्जरल्यान्डको जोडी, लाट्भिया र क्यानडाको जोडी तथा क्यानडा र अस्ट्रेलियाको जोडीको बीचमा खेल हुनेछ ।
पुरुष फुटबलमा ब्राजिल र मेक्सिको तथा जापान र स्पेनका बीचमा खेल हुनेछ ।
पुरुष ह्यान्डबलको क्वार्टर फाइनल खेल पनि मङ्गलबार हुनेछ । फ्रान्सले बहराइन, स्विडेन र स्पेन, डेनमार्क र नर्वे तथा जर्मनी र इजिप्टका बीचमा खेल हुनेछ ।
हक्कीको पुरुष सेमिफाइनलमा भारतले बेल्जियम र अस्ट्रेलियाले जर्मनीको सामना गर्नेछन् ।
भलिबलको पुरुष क्वार्टर फाइनल खेल हुने छन् । क्यानडाले रुस ओलम्पिक कमिटी, जापानले ब्राजिल, इटालीले अर्जेन्टिना र पोल्यान्डले फ्रान्सको सामना गर्नेछन् ।
वाटर पोलोको महिला स्पर्धामा क्यानडा र अमेरिका, स्पेन र चीन, नेदरल्यान्ड्स र हङ्गेरी तथा अस्ट्रेलिया र रुस ओलम्पिक कमिटीका बीचमा खेल हुनेछ ।
मङ्गलबारपछि सबै टिम खेलका नकआउट चरणका खेल हुनेछन् । –एसेन्सी