Trending :
 

नेप्से परिसूचक दोहोरो अङ्कले बढोत्तरी

श्रावण २८,२०७८

-आस्था न्यूज

साउन २८,२०७८ काठमाडौं ।
विकास बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।
 
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार हुने साताको अन्तिम दिन आज नेप्से १६.४१ अङ्कले बढेर तीन हजार १७९ मा पुगेको छ ।
 
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४६ बिन्दुले बढेर ५९१.१६ मा पुगेको छ । कूल २२५ कम्पनीको तीन करोड ६६ लाख आठ हजार ४६१ कित्ता शेयर रु १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ मूल्यमा खरिद बिक्री भए ।
 
कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्यमा सुधार आउँदा छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ८.९९, विकास बैंक ३४४.४१, वित्त ३१.७७, उत्पादन ९९.२५, जीवन बीमा ३१.०५, सामूहिक लगानी कोष ०.०८ र लगानी १.७१ बिन्दुले बढेको छ । व्यापार ५९.१७, होटल तथा पर्यटन ३७.८४, जलविद्युत् १२.२३, अन्य ९.१ र लघुवित्त ५.६५ बिन्दुले ओरालो लागेको छ ।
 
कारोबारका आधारमा आज माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६२ करोड ७९ लाख ९७ हजार ८०० बराबरको कारोबार भयो । 
 
कामना सेवा विकास बैंक रु ५९ करोड ७४ लाख ४४ हजार ३०२, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रु ४८ करोड ८३ लाख पाँच हजार ५२३, एचआइडिसिएल रु ४४ करोड पाँच हजार ७८८ र गरिमा विकास बैंक रु ४१ करोड ५८ लाख ४५ हजार ९४६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।