रोनाल्डोले युभेन्टस् समर्थकहरूका नाममा बिदाई सन्देश लेखे
-आस्था न्यूज
भदौ १२, २०७८ काठमाडौं ।
म्यानचेस्टर युनाइटेडमा फर्कने तय भएसँगै रोनाल्डोले युभेन्टस् समर्थकहरूका नाममा बिदाई सन्देश लेखेका छन् । ‘आज म उत्कृष्ट क्लबबाट बिदा हुँदैछु । इटलीको सबैभन्दा ठूलो र युरोपका ठूला क्लबमध्येको एक,’ रोनाल्डोले इन्स्टाग्राममा बिदाई सन्देश लेखेका छन्,‘मैले अन्तिम दिनसम्म पनि मेरो मन-मुटु युभेन्टस्लाई दिएको थिएँ ।
क्लबका समर्थकहरुले मलाई सधैं सम्मान गरे र मैले हरेक खेलमा उनीहरुका लागि लडेर त्यो सम्मानलाई धन्य बनाउने कोसिस गरें ।’
२०१८ मा रोनाल्डो रियल म्याड्रिडबाट युभेन्टस्मा आबद्ध भएका थिए । २००९ मा रियल आउनुअघि उनले पाँच वर्ष म्यानचेस्टर युनाइटेडबाट खेलेका थिए ।
शुक्रबार साँझ म्यानचेस्टर युनाइटेडले रोनाल्डो फर्किएको औपचारिक घोषणा गरेको छ । ‘क्रिष्ट्रियानो रोनाल्डोको स्थानान्तरणलाई लिएर युभेन्टस्सँग क्लबको सहमति भएको पुष्टि गर्न पाउँदा म्यानचेस्टर युनाइटेड निकै हर्षित छ,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
पाँच पटकका बेलोन डि अर विजेता रोनाल्डोले आफ्नो खेल जीवनमा ३० वटा प्रमुख उपाधि जितेका छन् । यसक्रममा उनले इङल्यान्ड, स्पेन र इटलीमा गरेर कुल सातवटा लिग उपाधि जिते । त्यस्तै, पाँचपटक च्याम्पियन्स लिग, चारपटक फिफा क्लब विश्वकप र आफ्नो देश पोर्चुगलका लागि युरोकप समेत जितेका छन् ।
म्यानचेस्टरमा उनले २००३ देखि २००९ को अवधिमा २ सय ९२ खेल खेल्दै १ सय १८ गोल गरेका थिए । उनी स्पोर्टिङ सिपीबाट किशोरावस्थामै म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका थिए । अहिले उनी ३६ वर्षको भइसकेका छन् ।