अन्तराष्ट्रिय प्रसङ्ग
भाद्र २१,२०७४
-एजेन्सी
२१ भाद्र/सोल-
दक्षिण कोरियाली सेनाले जमिनबाट आकाशमा हान्ने खालको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाको आणविक परीक्षणपछि दक्षिणले पनि जमिनबाट आकाशमा हान्न सक्ने क्षेप्यास्त्र परीक्षण गरेको सोलले जनाएको छ ।
उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको आग्रहको बेवास्ता गर्दै आणविक परीक्षणहरू गर्दै आएको छ । उसले आइतबार मात्र पनि शक्तिशाली आणविक परीक्षण गरेको थियो । सो परीक्षण गरिएको बम हाइड्रोजन बम भएको बताइएको छ ।
दक्षिणको सेनाले सोमबार बिहानको मिर्मिरे उज्यालोमा छोटो दूरीको हाइम्बु नामको ब्यालेस्टिक क्षेप्यास्त्र आकाशतिर हानेको थियो । पछि त्यो जमिनमै फर्किएको दृश्य उनीहरूले सार्वजनिक गरेको भिडियोमा देखिएको छ ।दक्षिण कोरियाली अधिकारीहरूले सार्वजनिक गरेको भिडियोमा सो क्षेप्यास्त्र हानेको दृश्य कैंद गरिएको छ । सो भिडियोमा दक्षिण कोरियाको एफ–१५ लडाकु विमानले जमिनबाट आकाशमा हानेका क्षेप्यास्त्रका दृश्यहरू देखिएको छ । यसलाई उनीहरूले नै छोटो दूरीको भनी व्याख्या गरेका छन् । लम्बाई कतिसम्म हो भन्ने बारेमा पनि उनीहरूले भिडियो वा सेनाको विज्ञप्तिमार्फत केही स्पष्ट गरेका छैनन् ।
देशको पूर्वीसमुद्रमा सो ब्यालेस्टिक क्षेप्यास्त्रको लक्ष्य बनाइएको थियो । क्षेप्यास्त्रको परीक्षण सफल भएको र तोकिएको गन्तव्यमा क्षेप्यास्त्र पुगेर सकुशल फिर्ता भएको दक्षिण कोरियाली सेनाका प्रमुखले जनाएका छन् । उता आइतबार मात्र उत्तरले गरेको हाइड्रोजन बम परीक्षणको समाचारलाई संसारका समाचार समितिहरूले आइतबार बिहानदेखि सम्प्रेषण गरेका थिए । ती समाचारमा यो घटनाबाट संसारमा ठूलो हलचल पैदा भएको मात्र नभई आणविक शस्त्रको होड बढाउने त्रासका रूपमा पनि टिप्पणी गरेका थिए ।
उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरूले उत्तर कोरियाले आइतबार बिहान प्रहार गरेको हाइड्रोजन बम शक्तिशाली र सफल भएको जनाएका थिए । उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू परीक्षण गर्दै आएको छ । केही समयअघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको थियो । जो जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको बताइएको थियो । त्यसयता पनि उत्तरले यस क्रमलाई निरन्तरता दिएको छ ।
उत्तर कोरियाका छिमेकी देशहरू दक्षिण कोरिया र जापानले आइतबारको हाइड्रोजन बम परीक्षणको पुष्टि गर्दै यसका कारण उनीहरूको देशको भूभागका पनि भूकम्पको जस्तै कम्पन आएको बताएका छन् । फ्रान्सेली समाचार समितिले दक्षिण कोरिया र चीनका विज्ञहरूलाई उद्धृत गर्दै लेखेको छ, ‘उत्तर कोरियाले क्षेप्यास्त्रहरू निर्माण गर्ने गरेको क्षेत्रमा कम्तीमा पनि ६ म्याग्निच्युड हाराहारीको कम्पन आएको जनाएको छ । पहिलेको भन्दा यस परीक्षण धेरै शक्तिशाली रहेकाले पनि विश्वमा उत्तर कोरियाको आइतबारको परीक्षणले तनाव उत्पन्न गरेको बताइन्छ । उत्तर कोरियाले यसअघि गरेको पाँचौंपटकको परीक्षणभन्दा यो कम्तीमा पनि १० गुणा बढी शक्तिशाली रहेको टिप्पणी गरिएको छ ।
दक्षिण कोरियाले सोमबार गरेको परीक्षण पनि उत्तरको परीक्षणस्थलसम्म लक्ष्य गरिएको पाइएको छ । जसका कारण यी दुवै परीक्षणले आपसमा लक्ष्य गरेको देखिन्छ । उत्तर कोरियाले आइतबार हाइड्रोजन बम मिश्रित क्षेप्यास्त्र परीक्षण गरेको स्थानलाई लक्ष्य गरेर गरिएको सो परीक्षण पनि सफल भएको दक्षिण कोरियाले जानकारी दिएको छ । यस परीक्षणपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले दक्षिण कोरियाले कडाभन्दा कडा सजाय दिन सक्ने चेतावनी दिएका छन् । उनको यो भनाइ उत्तर कोरियाप्रति लक्षित रहेको देखिन्छ ।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने पछिल्लो समयमा उत्तरले गरेको आणविक परीक्षणपछि दक्षिण कोरिया जिम्मेवार रूपमा जवाफ फर्काउन सक्ने अवस्थामा नदेखिएको भन्दै कडा आलोचना गरेका छन् । उनले आइतबार उत्तर कोरियाले गरेको परीक्षणलगत्तै गरेको ट्वीटमा भनेका छन्, ‘दक्षिणले गर्ने भनेको उत्तरसँगको शान्तिपूर्ण वार्ता सम्भव छैन तर तिमीहरू (दक्षिण कोरिया) ले गर्ने भनेको कारबाही आक्रमणको बदला आक्रमण नै हो ।’त्यसपछि सोमबार बिहान दक्षिण कोरियाका तर्फबाट यो जवाफी फायरिङका रूपमा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणको कुरा आएको हो । यसअघि भने उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्र परीक्षण गर्दा भने दक्षिणले विरोध मात्र गर्ने गरेको थियो ।
यसपटक भने दक्षिण कोरियाले पनि यो क्षेप्यास्त्र प्रहार गरेको समाचार अनौठो रूपमा प्रचारमा आएको छ । उत्तरको क्षेप्यास्त्रका विरुद्ध दक्षिणले पनि यसरी क्षेप्यास्त्र नै हान्ने यो धेरै लामो समयपछिको घटना हो । दक्षिण कोरियाली राष्ट्रपतिले उत्तरलाई राम्रो सबक सिकाउने र आवश्यक मात्रामा जवाफ दिने चेतावनी दिएका छन् ।
प्रमुख समाचार
सम्वन्धित समाचार