अमेरिकाले अब कतारको दुतावासबाट अफगानिस्तान हेर्ने

भाद्र १५,२०७८

-आस्था न्यूज

भदौं १५, २०७८ काठमाडौं ।
अमेरिकाले अफगानिस्तानबाट आफ्ना सबै सैनिक फिर्ता लगेको छ । यससँगै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकाले अफगानिस्तानमा एक नयाँ कूटनीतिक मिसन सुरु गरेको बताएका छन् ।
 
उनले अमेरिकाको काबुलमा रहेको दूतावास बन्द गरिएको र यसलाई कतारको राजधानी सहर दोहामा स्थानान्तरण गरिएको बताएका छन् ।
 
अमेरिकी नागरिकलाई सम्बोधन गर्दै ब्लिन्केनले भने, ‘अब अमेरिकी सेनाले अन्तिम उडान पूरा भइसकेको छ र हाम्रा सैनिकले अफगानिस्तान छाडिसकेका छन् । 
 
अफगानिस्तानसँग अमेरिकाको सम्बन्धको नयाँ अध्याय सुरु भएको छ । जसमा हामी आफ्नो कूटनीतिबाट अघि बढ्छौं । सैनिक अभियान पूरा भएको छ । एक नयाँ कूटनीतिक मिसन सुरु भएको छ ।’
 
ब्लिन्केनका अनुसार अफगानिस्तानबाट एक लाख २३ हजार मानिसको सुरक्षित उद्धार गरिएको छ । जसमा ६ हजारभन्दा धेरै अमेरिकी सैनिक थिए ।
 
‘आजबाट हामीले काबुलमा आफ्नो कूटनीतिक उपस्थिति बन्द गरेका छौं र दूतावासलाई दोहा लगिएको छ । हामी यस विषयमा छिटै नै संसद्लाई पनि जानकारी दिनेछौं । अफगानिस्तानको राजनीतिक र सुरक्षा परिस्थितिलाई नियाल्दै गरिएको यो एक समझदारीपूर्ण कदम थियो’, ब्लिन्केनले भनेका छन् ।
एजेन्सी