नेपाल-भारत मैत्रीपूर्ण फुटबलः अन्जन विष्टले गरे पहिलो गोल

भाद्र १७,२०७८

-आस्था न्यूज

भदौं १७,२०७८ काठमाडौं ।
नेपाल-भारतबीचको मैत्रीपूर्ण फुटबलमा नेपाली टिमले एक गोल गरेको छ । खेलको ३६ औं मिनेटमा अन्जन विष्टले नेपालका लागि गोल गरेका हुन् । जर्सी नं १४ का अन्जन विष्टले भारतीय गोलकिपरलाई झुक्याउँदै गोल गरेर अग्रता दिलाएका हुन् ।
 
नेपालले घरेलु मैदानमै पहिलोपटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार भारतसँग खेलिरहेको छ ।
 
नेपाल र भारत छिमेकीमात्र होइनन्, एक आपसमा फुटबलका सबैभन्दा ठूलो प्रतिद्वन्द्वी टिम हुन्।
 
तर, संयोग कस्तो भने भारत पहिलोपल्ट अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि काठमाडौंमा ओर्लिएको हो। अहिलेसम्म नेपाल र भारतबीच यस्ता तीन खेलमात्र भएका छन्। यी तीनै खेल भारतमै भएका थिए।
 
त्यसमध्ये सन् २०१३ मा पहिलोपल्ट सिलिगुढीमा खेल भएको थियो। त्यसपछि सन् २०१५ मा पुना र २०१७ मा मुम्बईमा खेल भएको थियो। यस्तोमा अब चौथोपल्ट नेपाल आफ्नै भूमिमा भारतसँग मैत्रीपूर्ण भिडन्त गर्दै छ।