पर्यटन बोर्ड र टानले एक हजार जनालाई रोजगारी दिने

भाद्र २०,२०७८

-आस्था न्यूज

भदौ २०, २०७८ काठमाडौं ।
नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) ले एक हजार जनालाई रोजगारी दिन सहकार्य गर्ने भएका छन् । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनरुत्थानका लागि टानसँग सहकार्य गर्ने भएको हो ।
 
पर्यटन बोर्ड र टानबीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनरुत्थान गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार करिब एक हजारभन्दा बढी पर्यटन श्रमिकहरूले अल्पकालीन रोजगार प्राप्त गर्नेछन् । 
 
कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभिडको कारण पर्यटन क्षेत्रका श्रमिकहरु बेरोजगार भएको अवस्थामा यो कार्यक्रमले थोरै भएपनि श्रमिकलाई राहत दिने बताए । 
 
उनले बाह्य पर्यटनको सम्भावनालाई कायम राख्दै  आन्तरिक पर्यटन जोड दिनु पर्ने अवस्था आएको बताए । उनले कोभिड महामारीले ठूलो पाठ सिकाएको बताए ।
 
यस्तै, सरकारले बनाएका नीति नियमलाई टान र बोर्ड मिलेर कार्यान्वयन गर्दै लैजान सकेमा पर्यटन विकास गर्न सकिने उनको भनाई छ ।  बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले युएनडिपीको सहयोगमा सञ्चालित यो परियोजनाले कोभिडबाट सिर्जित बेरोजगारीको समस्यालाई थोरै भएपनि हल गर्न मद्दत मिल्ने बताए ।
 
‘पर्यटकलाई बचाई राख्न पर्यटन श्रमिकहरुलाई टिकाइराख्नु पर्ने हुन्छ । यसैका लागि हामीले यो प्रयास गरेका छौं । यो ठूलो रोजगारी होइन तर पनि केही राहत अवश्य दिनेछ’ उनले भने ।