अफगानिस्तानमा परिवारबाट अलग्गिएका सयौं बालबालिकाको उद्धारः राष्ट्रसंघ

भाद्र २३,२०७८

-आस्था न्यूज

भदौ २३,२०७८ काठमाडौं ।
तालिबान सत्तामा आएपछि अफगानिस्तानमा अस्थव्यस्थताकाबीच छुटेका सयौँ बालबालिकालाई उद्धार गरिएको संयुक्त राष्ट्रसंघले मङ्गलबार जनाएको छ ।
 
उनीहरू अमेरिकी सेनाको बहिर्गमनसँगै अफगानिस्तानबाट आफ्ना बावुआमासँग विदेश जान विमानस्थल र वरपरका क्षेत्रमा पुगेका तर परिवारबाट छुटेका बताइएको छ ।   
 
संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले बताएअनुसार अगस्त १४ देखि अफगानिस्तानबाट परिवारसँग बाहिरिने क्रममा छुटेका करिब ३०० जना बालबालिकाहरू दर्ता भएका थिए । 
 
यूनिसेफले बताएअनुसार अगस्टको अन्त्यमा अमेरिकी सेना पूर्णतया हट्नुभन्दा पहिले देश छोड्ने हतारमा हजारौं मानिसहरू काबुल विमानस्थलमा ओइरिँदै गर्दा धेरै केटाकेटीहरू आफ्नो परिवारबाट अलग्गिएका थिए ।
 
अन्तिम दिनहरूमा संयुक्त राज्य अमेरिकाले काबुलको विमानस्थलबाट एक लाख २३ हजार भन्दा बढी मानिसहरूलाई अफगानिस्तानबाट बाहिरिन सघाएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
 
अमेरिकी नागरिक तथा अनुवादमा अमेरिकी मिशनलाई सहयोग गर्नेलगायतका र बसाइँ सर्न विशेष भिसाका लागि योग्य भएका अन्य व्यक्तिहरू सहित उनीहरूलाई विभिन्न मुलुक हुँदै अमेरिका, यूरोप लगायतका केही एशियाली मुलुकमा शरण दिइएको छ ।
 
जर्मनी, कतार र अन्य देशहरूको उडानमा छुट्टिएका केही बालबालिकाहरूलाई उद्धार गरिएको युनिसेफले बताएको हो ।
 
युनिसेफले हाल उद्धार गरिएका बालबालिकाहरूको रेखदेख गरिरहेका सरकारहरूलाई प्राविधिक सहयोग प्रदान गरिरहेको र अझै पनि देशमा छुटेकाहरूलाई दर्ता गर्न, उनीहरूको परिवारको पत्ता लगाउन र पुनर्मिलन गर्न प्रयास गर्न मद्दत गरिरहेको बताइएको छ ।