आजबाट संसद् अधिवेशन सुरुः पहिलो दिन नै बजेटसहितका १५ अध्यादेश स्वीकृत गर्ने कार्यसूची

भाद्र २३,२०७८

-आस्था न्यूज

भदौ २३, २०७८ काठमाडौं ।
संघीय संसद्को नवौं अधिवेशन सरकारले यसअघि दर्ता गरेका १५ वटा अध्यादेशमा केन्द्रित हुने भएको छ । संसद् सचिवालयले अधिवेशनको पहिलो दिन नै बजेटसहितका १५ अध्यादेश स्वीकृत गर्ने प्रस्तावलाई सम्भावित कार्यसूचीमा राखेको छ ।
 
संसद्को आठौं अधिवेशन सुरु भएको पहिलो दिन साउन ३ मा यी अध्यादेश सदनमा दर्ता पेस गरिएका थिए । तर सरकारले अघि बढाउन चाहेन । भदौ ३० सम्म निर्णय नगरिए यी अध्यादेश स्वतः खारेज हुने भएपछि अघि बढाउन सरकारले अधिवेशन बोलाएको हो ।
 
अधिवेशनको पहिलो दिनमै यसअघि रोकिएका अध्यादेश स्वीकार गराउने र दल विभाजन गर्न सहज हुने राजनीतिक दलसम्बन्धी अध्यादेशलाई टेबल गर्ने सरकारको योजनाअनुसार संसद् सचिवालयले सम्भावित कार्यसूची मंगलबार सार्वजनिक गरेको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल गर्दा एमालेको अवरोध हुन सक्ने सचिवालयले आकलन गरेको छ । बैठकको कार्यसूचीअनुसार बुधबारको बैठक अघि बढे १५ वटा अध्यादेश स्वीकार वा अस्वीकार हुनेछ ।
 
अध्यादेशलाई संसद्ले स्वीकार गरे सरकारले प्रतिस्थापन विधेयक संसद्मा पेस गर्ने बाटो खुल्छ । संसद्ले अस्वीकार गरे अध्यादेश स्वतः खारेज भएको मानिन्छ । राजनीतिक दलसम्बन्धीबाहेकका अध्यादेश केपी शर्मा ओली नेतृत्वको सरकारले जारी गरेको थियो । 
 
बजेटसहितको अध्यादेश बहुमतले स्वीकार हुने सरकारले दाबी गरेको छ । संसद्ले स्वीकार गरेपछि सरकारले दर्ता गर्ने प्रतिस्थापन विधेयक भदौ ३० भित्र राष्ट्रपतिले प्रमाणीकरण गरिसक्नुपर्ने हुन्छ । सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत नराखी बैठकको कार्यसूची सार्वजनिक गरेका हुन् ।