प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध

भाद्र २३,२०७८

-आस्था न्यूज

भदौ २३, २०७८ काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बुधबार नयाँ बानेश्वरमा बैठक सुरु हुनासाथ एमालेका सांसद्हरुले सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै उठेर विरोध जनाएका थिए ।
 
त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले बोल्नका लागि एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईलाई समय दिएका थिए ।
 
प्रमुख सतेचक भट्टराईले एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ जना सांसदलाई कारबाही नगरेको भन्दै विरोध जनाए । उनले विगतमा अन्य दलका कारबाहीको सिफारिसलाई तत्कालै सूचना प्रकाशन गरिएको तर एमालेको सिफारिसलाई विचाराधीनमा राखेर दल विभाजन भइसकेपछि कारबाही गर्न नपर्ने निर्णय गरेको भन्दै सदनको कारबाही चल्न नदिने घोषणा गरे ।
 
सांसदहरूले विधिको शासन कायम गर्न, संसदीय सर्वोच्चता कायम गर्न माग गरे । सभामुख सापकोटाले मुलुकको संविधान र कानुन तथा संसद्को मर्यादा र परम्पराभन्दा बाहिर नजान आग्रह गर्दै आफूले प्रतिनिधिसभाको नियमावलीबमोजिम नै काम गरेको जिकिर गरे ।
 
भट्टराईले एमालेको तर्फबाट सभामुखको जवाफ मागे थिए । त्यसपछि सापकोटाले जवाफ सुरु गरे पनि एमाले सांसदहरुले रोस्ट्रम अगाडि नाराबाजी गरेका थिए । नाराबाजी नरोकिएपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरे ।
 
आजको बैठकमा सभामुखको अनुस्थितिमा बैठकमा अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने, बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेश गर्नेलगायत सम्भावित कार्यसूची छ ।