खर्च हिजो जसरी चल्याथ्यो त्यसरी नै चल्छ, ५-७ दिन सरकारी खर्च रोकिन्छः प्रधानमन्त्री

भाद्र २९,२०७८

-आस्था न्यूज

भदौ २९, २०७८ काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट प्रतिस्थापन विधेयक संसद्‌मा पारित नहुँदा आइसक्ने कानुनी जटिलताले सरकारी खर्च गर्न नरोकिने बताएका छन् ।
 
संसद् भवनबाट बाहिरिँदै गरेका प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया व्यक्त गर्दै हिजो जसरी खर्च भएको थियो त्यसैगरी हुने बताएका हुन् । हिजो जसरी खर्च चल्यो त्यसरी नै चल्छ,प्रधानमन्त्री देउवाले भने ।
 
यस्तै, बैठकपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा ५-७ दिन सरकारी खर्च रोकिन सक्ने बताएका छन् ।
 
प्रतिस्थापन विधेयक मंगलबार रातिसम्म पारित हुँदा खर्च गर्न उत्पन्न हुने समस्याको विषयमा सोधिएको प्रश्नमा सरकारी खर्च ५-७ दिन रोकिँदा फरक नपर्ने उनले बताए ।
 
सहमति भए सहमतिअनुसार पारित गर्छौं । सहमति नभए नियमित प्रक्रिया पूरा गर्छौं । पारित गर्नका लागि केही समय ग्याप रह्यो भने केही समय खर्च गर्न नसक्ने पनि हुन सक्छ । 
 
वार्ता संवादबाट कोसिस चलिरहेको छ, शर्माले भने, कर उठाउने विशेष व्यवस्था छ । त्यसैअनुसार कर उठ्छ । केही समयका लागि ५-७ दिन रोकिन पनि सक्छ । उनले रोकिँदा पनि त्यसले असर नपर्ने बताए । अर्थमन्त्रीले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचारधीन रहेको छ ।