अब अन्तरिक्षमा पर्यटकिय घुमघाम

आश्विन ०१,२०७८

-आस्था न्यूज

असोज १, २०७८ काठमाडौं ।
 
‘स्पेसएक्स’ ले इतिहास रचेको छ । फेरि एकपटक । त्यो पनि अन्तरिक्षमा पेसेवर यात्रीबिनै पर्यटक पठाएर । कोभिड–१९ का कारण झन्डै दुई वर्षदेखि विश्वकै पर्यटन प्रभावित भइरहेका बेला स्पेसएक्सका मालिक तथा विश्वकै दोस्रो धनी एलन मस्कको ध्यान अन्तरिक्षतिर तानियो । 
 
उनले स्पेसएक्स कम्पनीको ‘ड्र्यागन क्याप्सुल’ मार्फत चार जना गैरपेसेवर यात्रीलाई बुधबार अन्तरिक्षमा उतारेका छन् । अमेरिकी कम्पनी ‘सीप-४’ का मालिक जरेद आइज्याकम्यान र अन्य तीन जना अमेरिकाको फ्लोरिडास्थित केनेडी अन्तरिक्ष केन्द्रबाट पृथ्वी कक्षको भ्रमणका लागि निजी यात्रामा निस्किएका हुन् ।
 
खर्चको चाँजोपाँजो भने ३८ वर्षीय अर्बपति आइज्याकम्यानले गरेका हुन् । क्रेडिट कार्डबाट रकम तिर्ने प्रणाली विकास गरेका आइज्याकम्यानले प्रेरणादायी जीवन बिताएका तीन जनालाई निःशुल्क लैजाने तय गरेका थिए । भ्रमणमा सहभागी २९ वर्षकी हेली एर्सेनो स्वास्थ्यकर्मी हुन् । कलिलै उमेरमा हड्डीको क्यान्सर जितेकी उनी हाल अमेरिकाको मेम्फिसस्थित सेन्ट जुड अस्पतालमा कार्यरत छिन् । एर्सेनोलाई १० वर्षको उमेरमा क्यान्सर भएको थियो ।
 
अर्की यात्री ५१ वर्षकी सायन प्रोक्टर भूगर्भ वैज्ञानिक र विज्ञान सञ्चारविद् हुन् । सन् २००९ मा नासाको अन्तरिक्ष यात्री बन्ने चरणको नजिक पुगेकी प्रोक्टर अन्तिम छनोटमा असफल भएकी थिइन् । आइज्याकम्यानका अनुसार कलासम्बन्धी भूमिका र व्यावसायिक गुणका आधारमा उनलाई यात्रीमा छनोट गरिएको हो । एक सामुदायिक कलेजमा अध्यापन गराउँदै आएकी प्रोक्टर आइज्याकम्यानले गरेको अनलाइन प्रतियोगितामार्फत छानिएकी हुन् । उनले ड्रागन क्याप्सुलको झ्यालबाट देखिने दृश्यलाई चित्रमा उतार्ने तयारी गरेकी छन् ।
 
तेस्रो यात्री ४२ वर्षीय क्रिस सेम्ब्रोस्की अमेरिकी हवाई सेनाका अवकाश प्राप्त अधिकारी हुन् । सेन्ट जुड अस्पतालका लागि चन्दा दिएका उनलाई यात्रामा जान पाउने चौथो सदस्यका लागि चिट्ठामा सामेल गराइएको थियो । उनी छानिएनन् तर अन्तिम समयमा भाग्यले साथ दिएपछि भने अन्तरिक्षमा उक्लने सौभाग्य पाए । अर्थात् चिट्ठा उनका एक जना साथीलाई पर्‍यो, ती साथीको अनुरोधमा सेम्ब्रोस्की यात्रामा निस्किए ।
 
आइज्याकम्यानले सेन्ट जुड अस्पतालमा चन्दा दिनेमध्येकालाई एउटा सिट दिने घोषणा गरेका थिए । स्पेसएक्सको फाल्कोन हेभी रकेटले उनीहरूलाई बुधबार स्थानीय समयअनुसार राति ८ बजे अन्तरिक्षमा पुर्‍याएको छ । उनीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र ९आईएसएस० भन्दा एक सय किलोमिटर माथि छन् । आईएसएस ४ सय किलोमिटर माथिबाट पृथ्वीलाई परिक्रममा गरिरहेको छ ।
 
अन्तरिक्षमा रहेका यी ‘गैरअन्तरिक्ष यात्री’ स्पेसएक्सको ‘ड्रागन क्याप्सुल’ यानमा छन् । यानको चार वटा सिटमा रहेर उनीहरूले अन्तरिक्षको अवलोकन गरिरहेको जनाइएको छ । ड्रागन क्याप्सुलको एउटा सिटको मूल्य ५ करोड ५५ लाख अमेरिकी डलर पर्छ ।
 
सात जना मानिस अट्न सक्ने यो क्याप्सुलको स्वरूप हल्का परिवर्तन गरेर पर्यटकले देख्ने, मिल्ने गरी सिसा हालिएको छ । यो यानले आईएसएसमा कार्गो लैजाने र सुरक्षित रूपमा पृथ्वीमा फर्कने गर्दै आएको छ । यो आईएसएसमा कार्गो ओसारपोसार गर्ने निजी क्षेत्रबाट सञ्चालित विश्वको पहिलो यान हो । 
 
हालसम्म ड्रागन क्याप्सुल २५ पटकसम्म आईएसएसमा पुगेको स्पेसएक्सले जनाएको छ । यो अन्तरिक्ष यानले हरेक ९० मिनेटमा पृथ्वीको फन्को लगाइरहेको छ । ड्रागन क्याप्सुल पर्यटकको टोलीसहित शनिबार फ्लोरिडाको एक तटीय क्षेत्रमा उत्रने जनाइएको छ । एजेन्सी