आज पनि मौसम पूर्णरुपमा खुल्ने सम्भावना छैनः चिसो बढ्यो

आश्विन ०२,२०७८

-आस्था न्यूज

असोज २,२०७८ काठमाडौं । 
केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ ।
 
दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो बढ्न थालेको मौसमविद्ले बताएका छन् । दिन र रात बराबरी जस्तै हुने समयमा बिहान र बेलुका चिसो हुने र दिउँसो घाम लागेको बेला गर्मी हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार हिजोआज बिहान र बेलुकाको न्यूनतम तापक्रम पनि केही घटेको छ । हिजो जिरीको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियससम्म झरेको थियो, लुम्लेको १५, जोमसोमको १० दशमलव ५, ताप्लेजुङको १७ डिग्री सेल्सियस, ओखलढुङ्गाको १७ दशमलव २, जुम्लाको १३ दशमलव ८, डडेल्धुराको १५ दशमलव ९  र काठमाण्डौको १९ डिग्री सेल्सियससम्म झरेको थियो । योे केही दिन अगाडिको तुलनामा न्यूनतम तापक्रम केही कम हो ।
 
अबको केही दिनको न्यूनतम तापक्रम यसकै हाराहारीमा रहने पनि मौसमविद् मानन्धरले जानकारी दिनुभयो । यसैबीच आज वाग्मती, प्रदेश १, २ र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको  पानी पर्ने सम्भावना छ ।
 
मौसमी न्यूनचापीय रेखाको प्रभावका कारण यी ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना भएको मानन्धरले बताउनुभयो । देशका अरु ठाउँको मौसम भने सामान्यदेखि आंशिक बद्ली भएर सामान्य खालको पानी पर्ने सम्भावना छ ।  आज दिनभरि नै मौसम पूर्णरुपमा खुल्ने सम्भावना छैन ।